
उत्तरी गोरखाका शैक्षिक धरोहर विजयप्रसाद अधिकारी
यदुप्रसाद अधिकारी ।
नेपालको शैक्षिक क्षेत्रमा भारतको विशेष प्रभाव देखिन्छ । छिमेकी मुलुक भारतबाट संस्कृत पढेर नेपालमा आई ग्रामीण क्षेत्रमा शैक्षिक नेतृत्व गर्ने पुर्खाहरुको नाम धेरैको लेखिएको देखिदैन् । १९१० मा जगंबहादुर राणाले नेपालमा अङग्रेजी शिक्षा आफ्ना परिवारलाई दिनका लागि दरबार हाई स्कुल खोलेका थिए ।
पछि देव शम्शेरले संस्कृत पाठशाला उपत्यकाभित्र र बाहिर खोले । चन्द्र शम्शेरको पालामा त्रि चन्द्र कलेज र केही विद्यालय खोलिए । २००७ सालमा प्रजातन्त्र आयो । बिस्तारै जनलहर बढ्यो । २०१७ सालमा देशका धेरै ठाउँमा विद्यालयहरु खोलिए । २०२८ सालमा नयाँ शिक्षा योजना लागु भएपछि क्रमश देशभर अङग्रेजी विषय पढाइ हुने धेरै विद्यालयहरु खुले ।
संस्कृत र अन्य विषय पढाइ हुनेपनि केही विद्यालयहरु खोलेको देखिन्छ । हाल देशभर चार हजारभन्दा बढी मावि, ११ सय क्याम्पस र त्रि.वि.वि.का ६२ वटा आङ्गिक कलेजहरु र १६ वटा विश्वविद्यालयहरु संचालित छन् । गोरखा जिल्लामा पनि १९८६ मा गोरखा पोखरीथोकमा भाषा पाठशाला खोलेर हाम्रो पुर्खाहरुले शैक्षिक क्षेत्रलाई अगाडी बढाएका थिए । त्यसपछि आधार स्कूल र अङ्ग्रेजी माध्यमका विद्यालयहरु क्रमश खोलिन थाले । २००७ सालमा प्रजातन्त्र आयो ।
त्यसपछि शक्ति मिडिल स्कूल २००९ सालमा खोल्ने काम भएको थियो । गोरखा जिल्लामा २०१७ सालपछि धेरै विद्यालयहरु खुलेका थिए । हाल यस जिल्लामा चार सय २५ भन्दा बढी सरकारी विद्यालयहरु, ३० वटा जति निजी विद्यालयहरु र ६ वटा कलेजहरु चलेका छन् । २०२८ पूर्व यस जिल्लामा ७ वटा मावि, १४ वटा मिटिल स्कूल र १२७ वटा प्राथमिक विद्यालयहरु चलेका कुरा जिल्ला शिक्षा कार्यालयबाट देखिन्छ । विद्यालयहरुको नेतृत्व गर्ने माविका प्रअहरुमध्य साविक हंसपुर गाउँ पञ्चायत हाल अजिरकोट गा पा वडा नं ३ हंसपुरमा मिति १९९९–५–२१ गते जन्मनु भएका विजय प्रसाद अधिकारी पनि एक हुनुहुन्छ ।
सादा जीवन र उच्च विचारका धनी निश्छल स्वभावका प्रअ अधिकारीले गोरखाको उत्तरी क्षेत्र विषेशत ज्ञानेज्योति माविमा पु¥याउनु भएको शैक्षिक योगदानको बारेमा उहाँसँग चर्चा गर्ने सुअवसर मिल्यो । त्यसैलाई आधार मानेर उहाँको जीवन बृतान्त (वायो डेटा)लाई लेख्ने प्रयास गरेको छु । उहाँले हालको ज्ञानज्योति माविमा (प्राथमिक)मा २–३ महिना पढेर गोरखा पोखरी थोकको हाल सेना बसेको टुँडिखेलमा संचालित आधार स्कूलमा अध्ययन गर्नुभएको थियो । त्यसपछि जनता मिडिल स्कूल आँपपीपलमा कक्षा चारदेखि ७ कक्षासम्म पढ्नु भएको रहेछ ।
त्यसबेलामा बाहुनका छोराहरुले धोतीपाटा फेरेर भात पकाउने र भात खाने चलन रहेछ । स्कूल जाने समयमा भातको भाग कुन ठुलो छ भनेर सोधेपछि क्षेत्रीको छोराले बाघकाने जुत्ता लगाएर भान्छाको छेउमा पुग्दै यो भाग ठूलो छ भनेपछि मुखामुख गर्दै भात खाएर हामी सबै विद्यालय गयौँ भनेर पनि भन्नुभयो । २०१७ सालपछि लैनचौरको शान्तिगृह विद्यालयमा ८, ९ र १० पढेपछि एसएलसी परीक्षा पास गरेको थिएँ भनेर बताउनुभयो ।
लप्सीबोटबाट आरुघाट हुँदै नुवाकोट भएर काठमाडौँ पुग्न करिब ४५ कोस हिँड्नु पर्दथ्यो । रु १ मा एक छाक दालभात खान पाइन्थ्यो । आफूले लगेको खाजा खानुपथ्र्यो । कहिले काँही पाटी र पौवामा बास बस्नु पथ्र्यो । यात्रुहरुलाई जात र भातका बारेमा धेरै सोधनी गर्ने चलन थियो । ताकुमा लुगा लगाएर भात खान लागेको थिएँ । मलाई पु¥याउने दुईजना गाउँलेहरु धिताल र न्यौपाने थिए । मेरो बा जिम्बल हुनुहुन्थ्यो । बालाई चिनेको हुनाले घरबेटीले धेरै सोधखोज गरेपछि मैले ल्याइते पट्टीको छोरो हुँ भने । त्यसपछि दुईजना साथी मरीमरी हाँसे भनेर ठट्टा पनि गर्नुभयो ।
२०२२ सालदेखि त्रि चन्द्र कलेजमा आइ.ए पढेको थिएँ । विद्यार्थी छात्रहरुले दौरा सुरुवाल र छात्राहरुले साडी लगाएर कलेजमा जानुपथ्र्यो । कलेजमा अनुशासन कडा थियो । उहाँले २०२२ सालेदेखि २०२४ सालसम्म अम्मरज्योति मा वि र २०२७ सालदेखि ज्ञानज्योति मिडिल स्कुलमा प्रअ भएर काम गर्नु भएको देखिन्छ । २०२७ देखि २९ सालमा पूर्व सवाकालीन शिक्षक तालिम कीर्तिपुरमा पढ्नु भएको रहेछ ।
पालुङटारबाट हवाई जहाज चढेर लप्सीबोटबाट आएर पनि काठमाडौँ पुगेको थिएँ भनेर इतिहासलाई कोट्याउनु भयो । २०३० सालमा गोरखा जिल्लमा नयाँ शिक्षा योजना लागु भयो । त्यसपछि दुईवर्ष परोपकार आदर्श मावि जौवारीमा प्रअ हुनुभएको थियो । त्यसपछि शक्ति मा वि मा सहायक शिक्षक भएपछि पुनः हालको ज्ञानज्योति मा वि लप्सीबोट गोरखामा गई २०३२ साल पुषमा कक्षा ८ खोलेर माविको प्रअ हुनुभयो । २०५३ सालसम्म अनबरत रुपमा शिक्षण सेवा गरी राजीनामा दिई हाल निवृत्त जीवन बिताई रहनु भएको छ ।
कुशल, मृदुभाषी, मितव्ययी प्रअ अधिकारीको साथीहरुसँगै हिँड्दा दुई चार सय रुपैँया आफ्नो भागभन्दा बढी तिर्ने स्वभाव देखिन्छ । २०३२ सालमा पाँच जाना मोहन नारायण श्रेष्ठ, परशुराम श्रेष्ठ, चूडामणि कट्टेल, रामकुमार श्रेष्ठ र उहाँलाई जिल्लामा नै पहिलो पटक जिल्ला शिक्षा कार्यालयले वि.एड गरेको हुनाले मा वि द्धितीय श्रेणीको पद दिई स्वतः प्रअ बनाएको थियो भनी कुराकानीको शिलशिलामा बताउनु भयो ।
२५ वर्ष मा वि को प्रअ भएर नेतृत्व गर्दा विद्यालयहरुमा शिक्षक र त्यसमाथि पनि विषयगत शिक्षकको धेरै समस्या थियो भन्नुभयो । अङग्रेजी, गणित र विज्ञान पढाउनेलाई विद्यालय संचालक समितिले पैसा थप्ने चलन पनि थियो । गाउँलेहरुले शिक्षकहरुलाई प्रतिशोध भावना राख्थे । शैक्षिक क्षेत्रमा राजनीति गर्नेहरुले धेरै दुख दिएका थिए भनी दुखेसो समेत पोख्नुभयो । सरकार, जिल्ला शिक्षा कार्यालय र आफ्ना शिक्षकहरुले भने सम्मान गरेका थिए भनी सन्तोष समेत व्यक्त गर्नुभयो ।
२०४८ सालदेखि ५२ सालसम्म नेपाल शिक्षक संघ गोरखाको निर्विरोध अध्यक्ष भएर नेतृत्व गर्ने सौभाग्य पाएँ । त्यो समयमा जिल्लाका नेतृत्व वर्गसम्म घुलमेल गर्ने अवसर शिक्षक साथीहरुले दिए भनी निर्विरोध चयन शिक्षकहरुलाई धन्यवाद पनि दिनुभयो । नेपालभित्र शिक्षकका समस्याहरु धेरै थिए । यस जिल्लामा समस्या नहुने त कुरै भएन । सबै साथीहरुको सहयोगले समस्या समाधान गरेका थियौँ । पञ्चायत कालमा पञ्चहरुले शैक्षिक क्षेत्रमा राजनीतिक आँखाले हेरेर अप्ठयारो पारेका थिए भनी दुखेसो समेत पोख्नु भयो । उहाँले जिल्ला शिक्षा समितिमा तीन पटक सदस्य भएर काम गर्नु भएको देखिन्छ । ११ पटक एसएलसीको केन्दाध्यक्ष हुनुभएको र नौँ पटक शक्ति माविको मात्रै हुनुभएको रहेछ ।
क्षेत्रीय शिक्षा निर्देशनालय पोखराले तीन पटकसम्म एसएलसीको पर्यवेक्षक बनाएको उहाँको पत्रबाट देखियो । बहुदल घोषणा हुनुपूर्व मा वि ले सरकारबाट आधा मात्र अनुदान पाउँथ्यो । आधा तलव विद्यालयले व्यहोर्नु पथ्र्यो भनी बताउनुभयो । २०४७ सालमा बहुदल आएपछि नेपाली काङग्रेसको सरकार बन्यो । त्यसपछि सरकारले धेरै अस्थाई माविलाई स्वीकृत दियो । सबै तलब सरकारले व्यहोर्ने व्यवस्था मिलायो भनी बताउनु भयो ।
पञ्चायत कालमा हामी शिक्षकहरुले पेशागत माग राखेर हड्ताल ग¥यौँ । सरकारले हामीलाई पिट्यो, हिरासतमा राख्यो । हड्ताल लामो भएपछि माग पूरा ग¥यो । शिक्षकहरुलाई दोस्रो दर्जाको कर्मचारीको रुपमा हेरेपनि पेन्सन दिने काम भएको छ भनी गर्व गर्नुभयो । पहिले पहिले विद्यालयहरु धेरै शान्त थिए । शिक्षकहरुको बृद्धि विकासमा जोड दिने चलन थियो । हाल समय सापेक्ष शिक्षा ऐन, पाठ्यक्रम र पाठ्य पुस्तक छैन भनेर बताउँदै परीक्षालाई मात्र ध्यान दिनु हुँदैन, सुधार गर्नुपर्छ भनेर उहाँले बताउनुभयो ।
विद्यालयमा राम्रो काम गरेबापत उहाँलाई शिक्षा मन्त्रालयले दुईपटक, जिल्ला शिक्षा समतिले दुई पटक र गोरखा सेवा समाजले एक पटक नगद र प्रमाणपत्र दिएको कुरो उहाँले देखाउनु भयो । राजा बिरेन्द्रको राज्याभिषेकमा उहाँलाई सम्मान सहित तक्मा दिएको रहेछ । उहाँलाई २०४४–११–१२ र २०५२–११–१२ गते र २०६३ सालमा सम्मान गरेको देखिन्छ ।
शैक्षिक क्षेत्र सन्तोकजनक छैन् । सरकारले शिक्षकहरुलाई निजामती कर्मचारी सरह सुविधा दिएर शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्छ । शिक्षकहरुको बृत्ति विकास गर्न समयसापेक्ष पाठ्यक्रम, पाठ्यपुस्तक सम्बन्धी सेमिनार, गोष्ठी र तालिम संचालन गर्नुपर्छ । विद्यार्थीहरुको सामान्य कमजोरी पत्ता लगाई पठन पाठनमा सुधार ल्याउनु पर्छ । विद्यालयका व्यवस्थापन समितिलाई विद्यालय संचालन गर्ने अधिकार दिनुपर्छ ।
शिक्षकहरुको सरुवा, बढुवा जिल्ला शिक्षा कार्यालयले गर्नुपर्छ । राम्रा शिक्षकलाई पुरस्कार दिई लापरवाही गर्ने शिक्षकलाई दण्ड दिने व्यवस्था शिक्षा मन्त्रालयले गर्नुपर्दछ । शिक्षा मन्त्री योग्य व्यक्तिलाई बनाउनुपर्छ । शिक्षकहरुलाई १०–१० वर्षमा बढुवा गर्ने व्यवस्था गर्नुपर्छ । सरकारले शिक्षकहरुसँग गरेको सम्झैँता लागु गरेर शिक्षकहरुको मन जित्नु पर्छ । राम्रो पढाउने, राम्रो परीक्षाफल निकाल्ने शिक्षकलाई आर्थिक रुपले सम्मान गरी पुरस्कार दिनसपर्छ । विद्यालयहरु स्वीकृत दिएर मात्र हुँदैन् । विद्यार्थी सङख्या नभएका विद्यालय गाभ्ने व्यवस्था मिलाउनुपर्छ भनेर सुझाव पनि दिनु भयो ।
मृदुभाषी, विवेकशील, आफ्ना हितैषीहरुको मात्र बढी विश्वास गर्ने पूर्वप्रअले मदिरापान गर्नेहरु र बोली र व्यवहारमा धोका दिनेलाई धेरै विश्वास नगरेको देखिन्छ । आफ्ना शिक्षक, स्टाफहरुको लोकप्रिय भएर प्रअलाई विद्यालयको पठनपाठनभन्दा बाहिरी सहयोग जुटाउन अनुरोध गर्दथ्यौँ । उहाँले विद्यालयको शैक्षिक स्तर बृद्धि गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न, विषयगत शिक्षकहरु जुटाउन र वीरेन्द्र शिल्डको लागी राम्रा खेलाडीहरु तयार गर्न ध्यान दिएको देखेका थियौँ । कुशल, लोकप्रिय शिक्षाविदको उज्वल भविष्यको कामना गर्दछौँ ।




