| आइतवार, कार्तिक २२, २०८३

गोरखामा सडक छेउमा पार्कीङ कहिले सम्म !

गोरखा बजार क्षेत्रमा पार्कीङ गर्ने ठाउँ छैन । निजी गाडीदेखि भाडाका यात्रुबाहक सवारी साधन सवारी धनीको घर, चालक, सहचालकको डेरा वा सडक छेउमा पार्कीङ गरिएका भेटिन्छन् । वर्षौँ देखिको यो समस्या समाधान हुन सकेको छैन ।

गोरखामा सडक छेउमा च्यापेर घरहरु बनेका छन् । दोहोरो गाडी चल्ने सडकमा एकातर्फ पार्कीङ गर्दा बजार क्षेत्र अस्तब्यस्त हुने गरेको छ । घरधनी वा ब्यवशायीक प्रयोजनका घर, कार्यालयहरुले पार्कीङको ब्यवस्था गर्न सकेका छैनन् । पार्कीङ सहितका घर बिरलै छ । निजी गाडी, मोटरसाईकल घर अगाडी सडकमै पार्कीङ भएका देखिन्छन् । यसले दुर्घटनाको जोखिम बढाएको छ नै पैदल हिँड्ने ठाउँमा पार्कीङ गर्ने क्रम पनि बढेको छ ।

पुरानो बसपार्क साँघुरो छ । क्यूका दुई÷चार वडा गाडीले भरिन्छ । नयाँ बसपार्क बन्न सुरु भएको चार वर्ष भयो तर काम सकिएको छैन । नयाँ बनेको बसपार्क सदरमुकामबाट चार किलोमिटर टाढा छ । त्यहाँ सम्म यात्रुबाहक सवारी साधन लैजान मुस्किल छ । सडक सहज छैन । त्यसैले सडक छेउमै यात्रुबस तेर्सिरहेका हुन्छन् ।

संघीय आयोजना कार्यानवय ईकाइ कास्कीले निर्माण गरिरएको गोरखा नगरपालिका ७ डण्डीडाँडाको बसपार्क कहिले पुरा हुन्छ भन्ने यकिन छैन । बनिहाले पनि त्यहाँ सम्म पार्कीङ गर्न लैजान समस्या छ । बजार क्षेत्रमा घर बनाउन पार्कीङ अनिवार्य गर्नुपर्ने देखिन्छ । अर्कोतर्फ सार्वजनीक सवारी साधन पार्कीङका लागि निश्चित ठाउँ छनौट गरेर प्रयोगमा नल्याउने हो भने गोरखा बजारमा अझै कयौँ वर्ष सडक छेउमै सवारी साधन पार्कीङ गर्नुपर्ने बाध्यता हुन्छ ।

यसले न गोरखाको पर्यटन प्रर्वद्धनमा मद्धत पुग्छ न त पैदल यात्रुले ढुक्क सँग सहज यात्रा गर्न पाउँछन् । पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्ने र पर्यटनबाट फाईदा लिने योजना पनि तुहिन सक्छ । अब्यवस्थित पार्कीङले प्रदुषण बढाउनुका साथै सवारी आवतजावत पनि अस्तब्यस्त बनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्