| मङ्लबार, साउन ११, २०८३

ख्रीष्टमस भनेको के हो ?

जेम्स तामाङ

हरेक बर्ष डिसेम्बर २५ र नेपालीमा पौष १० गतेलाई ख्रीष्टमस पर्बको रुपमा मनाउने गरिन्छ । ख्रीष्टमस इसाईहरुको एक महान् पर्वको रुपमा चिनिन्छ । येशूको जन्मोत्सवको रुपमा ख्रीष्टमसलाई मनाउने गरिन्छ । येशूलाई संसारको ज्योती भनेर चिनिन्छ ।
हुन त यो इसाईहरुको पर्र्व हो, तर यसलाइ अन्य धर्मावलम्वीहरुले पनि विभिन्न तरिकाबाट उत्सव मनाएको र खुशीयाली साटफेर गरेको देख्न सकिन्छ ।

घरहरु सजाउने, पसलहरुमा ख्रीष्टमस टूी सजाएर बत्ति बालेर विभिन्न गिफ्टहरु झुन्ड्याएर राख्ने आदि गरेर पनि ख्रीष्टमस पर्वलाई झल्काउने गरिन्छ । विशेषहरु नेपालमा ख्रीष्टियनहरुले चैँ ख्रीष्टमसको दिन अर्थात डिसेम्बर २५ भन्दा अघि देखि नै क्यारोल खेल्ने (विभिन्न चोकहरुमा वा घरघरमा नाचगान गर्दै येशू जन्मेको खबर बाड्ने ) , एकअर्कामा खुशी बाड्ने, शुभकामना आदनप्रदान गर्ने र विशेष पौष १० अर्थात डिसेम्बर २५ मा आ आफ्नो चर्चमा केहि वरपरको छिमेकीहरु, आफन्तहरु बोलाएर रमाईलो कार्यक्रमका बिच येशू प्रभुको जन्मोत्सव मनाउने गर्दछ । डिसेम्बर २५ मै ख्रीष्टमस मनाउने गरेता पनि, येशूको जन्म डिसेम्बर २५ मै भएको चैँ होईन । उहाँ यो संसारमा जन्मनुभएको चैँ सत्य हो ।

येशू एक ऐतिहासिक व्यक्ति हुनुहुन्छ । येशूको जन्मभन्दा अघिको समयलाई बि.सि.(बिफोर क्राइस्ट अर्थात येशू भन्दा पहिलेको समय) र येशूको जन्मपछिको समयलाई ए.डी.(अन्नो डोमिनी ल्याटिन भाषाको यो शब्दको अर्थ हाम्रो प्रभुको बर्षमा हुन्छ )े भनिन्छ । जस्तै अहिले अंग्रेजी महिना २०२१ ए.डी. हो । यो येशूको जन्म पछि गन्ति गरिएको समय हो । येशू इतिहासले चिनको व्यक्ति हुनुहुन्छ ।
येशू को हुनुहुन्छ ?

ख्रीष्टमसको मुख्य केन्द्रबिन्दु ख्रीष्ट येशू हुनुहुन्छ । येशू जसलाइ संसारको ज्योती भनेर पनि चिनिन्छ, उहाँ नै ख्रीष्टमसको मुख्य आनन्दको श्रोत र उत्सवको कारण हुनुहुन्छ । ख्रीष्टियनहरुले येशूलाई आफ्नो मुक्तिदाता मान्दछन् । पवित्र धर्मशास्त्र बाइबलले बताउछ कि येशूको जन्म पापी मानिसहरुलाई उनिहरुको पापदेखि बचाउनलाई भएको हो (मत्ति १ः२१) ।

एउटा सानो बालकलाई कसैले नराम्रो कुराहरु सिकाउदैन । तर बढ्दै जाँदा रिसाउने, लोभ गर्ने, घमण्ड गर्ने बानीहरु उसमा आफै विकसित भएको हामी पाउदछौ । बाइबलले बताउछ कि सबै मानिस आफ्नो आमाको कोखबाट नै पापी भएर जन्मन्छ । मानिस जाति परमेश्वरको सृष्टि हो । तर मानिसले अनाज्ञाकारी भएर पाप गरेको कुरा बाईबलले बताउदछ ।

अब पापको समस्या नहटेसम्म सत्य परमेश्वरसँग एउटा मानिसको मिलाप हुन सक्दैन । र मानिसले आफ्नो स्वप्रयास, आफ्नो स्वधर्म,बल र बुद्धिले पापबाट छुटकारा पाउन सक्दैन । यहि समस्याबाट छुटकारा दिनको लागि येशू मानिसको मुक्तिदाता बनेर यो संसारमा आउनुभएको हो ।

येशूको जन्म एक कन्याको कोखबाट भएको हो । येशूको जन्म अचम्म प्रकारले भएको छ । उहाँको जन्म पूरुष र महिला शारिरीक सम्पर्कबाट होईन तर मरियम नामको एक कन्या स्त्रीको कोखबाट भएको हो । येशूको जन्म हुनु भन्दा करिब ७०० बर्ष अघि एक जना यशैया नामको भविष्यवक्ताले येशूको जन्मको बिषयमा यसरी भनेका थिए ः हेर, एउटी कन्या गर्भवति हुनेछिन्, तिनले एउटा पुत्र जन्माउनेछिन् र उहाँको नाउँ इम्मानुएल राखिनेछ ।

जब यो भविष्यवाणी पुरा हुने समय आयो, तब एकजना स्वर्गदुत मरियम कहाँ देखा परे जस्को मगनी योसेफ भन्ने एक जना धार्मिक मानिससंग भएको थियो । स्वर्गदुतले मरियमलाई तिमी गर्भवति हुनेछ्यौ, एउटा छोरा जन्माउनेछ्यौ र उहाँको नाउँ येशू राख्नेछ्यौ भनेर बताए । मरियमले छक्क पर्दै भनिन् यो कसरी हुन्छ, म एक कन्या हुँ । तब स्वर्गदुतले भने, पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चको छाया तिमीमा पर्नेछ । यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात परमेश्वरको पुत्र कहलाइनुहुनेछ ।

तब मरियमले भनिन् तपाईको बचन अनुसार मलाई होस् । तर जब यो खबर योसेफले सुने, जससँग मरियमको मगनी भएको थियो, तिनले बिहे अघि नै मरियम गर्भवति भएको थाहा पाएर मरियमलाई गुप्त मै छाड्ने निर्णय गरिन् । तर तिनले यो कुरा सोच्दै गर्दा सपनामा परमप्रभुको दूत देखा परेर योसेफलाई भने, “भविष्यवक्ताहरुले भनेको भविष्यवाणी पुरा हुनलाई यो हुन लागेको हो ।

मरियमलाई तिम्री पत्नि स्वीकार गर्न नडराउ । किनकी जो गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ । तिनले एउटा पुत्र जन्माउनेछिन् र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्नो मानिसहरुलाई तिनीहरुका पापबाट बचाउनु हुनेछ । ” तब योसेफ सपनाबाट व्युझे र मरियमलाई आफ्नी पत्नि स्वीकार गरे र येशूको जन्म नहोञ्जेल तिनले मरियमसंग सहबास गरेनन् ।

योसेफले येशूको जन्म नहोञ्जेल आफ्नी पत्निसित सहबास अर्थात शारिरीक सम्पर्क गरेनन् भन्ने कुराले के बुझाउछ भने येशू पवित्र जन्मनुभयो । उहाँ पापरहित जन्मनुभयो । उहाँ कुनै पूरुषको वीर्यबाट, रगतबाट वा शारिरीक इच्छाबाट होईन, तर परमेश्वरबाट, पवित्र आत्माको शक्तिद्धारा परमेश्वरको बचनबाट उहाँको जन्म भयो ।

संसारको सबै मानिस मानिसकै बिऊ हो, तर येशू परमेश्वरको बिऊ हुनुहुन्छ । पहिलो मानिस आदमले पाप गरेको कारण संसारको सबै मानिस पापी छ । किनकी सबै आदमकै बिऊ हो तर येशू सय प्रतिशत धर्मी हुनुहुन्छ । किनकी उहाँ मानिस भएर जन्मनुभयो तर उहाँको जन्म परमेश्वरको बचनअनुसार पवित्रआत्माको शक्तिमा परमेश्वरको बचनअनुसार भएको हो ।

किन उहाँको जन्म यसप्रकारले भयो त ? पवित्र अर्थात परमेश्वरको पुत्र कहलाईनि उहाँको जन्म यसप्रकारले भयो भनि बाइबलले बताउछ । मानिसहरुलाई पापबाट बचाउनको लागि कोही एकजना पवित्र व्यक्तिले उनिहरुको पापको लागि रगत बगाउनुपथ्र्यो ।

यहि खाँचो पुरा गर्नको लागि येशू यो संसारमा आउनुभएको हो । उहाँ तपाई र मेरो पापको निम्ति मर्नकै लागि आउनुभएको हो र आजभन्दा दुइ हजार बर्ष पहिले उहाँ सम्पुर्ण मानिस जातिको लागि क्रुसमा मर्नुभएको छ । उहाँले आफ्नो पवित्र रगत तपाई र मेरो निम्ति बगाउनुभएको छ ।
येशूले मात्र एउटा पापीलाई उसको पापबाट छुटकारा दिन सक्छ । किनकी १. उहाँ पवित्र हुनुहुन्छ र २. उहाँ पापीलाई बचाउनको निम्ति नै यो संसारमा आउनुभएको हो । येशू बाहेक एउटा पापीलाई बचाउन अरु कसैले सक्दैन ।

एउटा पोखरीमा डुबेको व्यक्तिले अर्को पोखरीमा डुबेको व्यक्तिलाई बचाउन सक्दैन । कोही पोखरीभन्दा बाहिरको व्यक्ति चाहिन्छ । त्यसरी नै एउटा पापमा डुबेको व्यक्तिले अर्को पापमा डुबेको व्यक्तिलाई पापको पोखरीबाट निकाल्न सक्दैन । कोही पापको पोखरीभन्दा बाहिरकोे व्यक्ति चाहिन्छ । सायद तपाईले बुझिसक्नुभयो कि पापको पोखरी बाहिर हुने पवित्र र धर्मी व्यक्ति को हुनुहुन्छ । पक्कै पनि उहाँ संसारको ज्योती, संसारको मुक्तिदाता, परमेश्वरको थुमा प्रभु येशू ख्रीष्ट हुनुहुन्छ । जो हाम्रो पापको निम्ति मर्नुभयो र फेरि तेस्रो दिनमा जीवित हुनुभयो । उहाँ जिउदो प्रभु हुनुहुन्छ ।

यि नै पवित्र अर्थात परमेश्वरको पुत्र , मानिस जातिको मुक्तिदाता, परमेश्वरको थुमा, येशूको जन्मको उत्सव नै ख्रीष्टमस हो ।
हुन त विश्वास गर्ने कि नगर्ने त्यो तपाइको स्व इच्छाको कुरा हो तर ख्रीष्टमसको सत्यता यहि नै हो । ख्रीष्टमसको यो साँचो अर्थलाई तपाईले बुझ्न सक्नुभएको होस् र दुई हजार बर्ष पहिले बेथलेहेममा जन्मनुभएको येशू तपाईको ह्रदयमा जन्मन सकेको होस् ।
मेरि ख्रीष्टमस, ख्रीष्टमसको शुभकामना । (लेखक मेगा चर्च गोरखाको पाष्टर हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्