
हरमटारी खेलमैदानमा आयोजना गरिएको मेलाको विषयमा सरोकारवाला के भन्छन् ?
मेला रोक्नु दुर्भाग्यपूर्ण : भाईचन्द्र श्रेष्ठ, अध्यक्ष, चेम्बर अफ कमर्स
तयारीका सम्पूर्ण काम पूरा हुँदै गर्दा मेला रोक्न यतिठूलो तिकडम गर्नु दुर्भाग्यपूर्ण हो । यसले गोरखा र गोरखालीलाई किमार्थ फाइदा गर्दैन । कोभिडले थलिएको ब्यापार ब्यवशायलाई उठाउन मेला आयोजना गरेका थियौँ । गोरखालाई यो फाईदा पुग्ने बिषय थियो । अब यहाँका शीर्ष राजनीतिक दलले बसेर यो समस्याको समाधान गर्नुपथ्र्यो । गोरखाको होटल ब्यवशाय, यहाँको अन्य ब्यापार सबै चलायमान बनाउने योजना थियो ।
सम्पूर्ण तयारी सकेर हामी धेरै अगाडि बढिसकेका थियौँ । तर अन्तिममा आएर रोक्ने कुरा जुन भयो, त्यो हुनै नसक्ने कुरो भयो । गोरखा बजारको भुगोल नै त्यस्तो छ कि मेला गर्ने अन्य कुनै उपयुक्त मैदान छैन । हामी कोही पनि मेला गर्ने स्थलको बिकल्प खोज्न लागेनौँ । तर हरमटारी मैदान जस्तो बजारको बिचमा रहेको खुल्ला ठाउँ छैन । बजार चलायमान बनाउन मेला त्यहाँ नै गर्नु उपयुक्त हुन्छ । यसअघि २०५४ सालदेखि नै यही मैदानमा मेला महोत्सव भइरहेको हो ।
खेलकुद गतिविधिका लागि छेवेटारमा मैदान बनाइएको छ । अन्यत्र बजार नजिकै पनि मैदानको बिकल्प खोज्न सकिन्छ ।
मेलाको बिरोध होइन, खेल गतिविधिलाई डिस्टर्ब नगरौँ भनेको हो : दिपेन्द्र श्रेष्ठ, अध्यक्ष, एन्फा गोरखा
हामीले चेम्बर अफ कमर्सले मेला आयोजना ग¥यो, यो गर्न हुँदैन थियो भनेर बिरोध गरेका होइनौँ । मेला मैदानमा नगरौँ अन्यत्र बिकल्प खोजौँ भनेको हो । चेम्बरले मात्र होईन, उद्योग बाणिज्य संघ लगायत अन्य क्लवहरु कसैले पनि अब हरमटारी खेलमैदानमा मेला नगरुन भन्ने तर्क हो । यो एक पटक हामीले रोक्न सकियो भने कसैले मेला गर्ने आँट गर्दैनन् । त्यसपछि मैदान संरक्षण हुन्छ । यहाँ निरन्तर खेलकुद गतिविधि पनि चल्छ । मैदान ब्यवस्थित भएन भने खेलाडीले खेल्न सक्दैन । दुर्घटना हुन सक्छ । त्यसको क्षति कति हुन्छ भन्ने आँकलन कसैले गरेका छैनन् ।
हाम्रो स्वामित्वमा भएकाले दिएका हौँ : शान्तसिंह बस्नेत, अध्यक्ष, जिल्ला खेलकुद बिकास समिति
मैदान हाम्रो स्वामित्वमा छ । सम्झौता गरेर दिएको हौँ । यसअघि पनि दिने गरिएको थियो । अहिले पनि दिएको हो । मैदान मर्मत सम्भार गर्न पैसा पनि लिएका छौँ । अहिले खेलकुद गतिविधि पनि खासै नभएकाले दिइएको हो । अब कसरी अघि बढ्ने भन्ने माथिल्लो निकाय सँग छलफल गरेर निकासमा पुग्छौँ ।




