
हो ! हो ! बरादो हो ! हो !
रामचन्द्र आचार्य
यस संसारमा पञ्तत्व र प्राणीहरुमा एक आपसको समन्वयनमा प्राणीहरुको जीवनलीला चलिरहेको छ । देश, काल यी सबै काल्पनिक हुन् । सापेक्ष छन् तर यथार्थ होइनन् । वातावरणीय प्रभापले हरेक जीवहरुका रुप, आकार व्यवहार आदिमा परिवर्तन आएको छ । प्राणीहरु मध्ये मानिस जातिको बौद्धिता, भाषिकता तथा अनुसन्धान कार्यले अन्य जनावर भन्दा फरक जीवधारी प्राणी बन्यो ।
बत्तिमा कीरा घुमेझै अहिलेका मानिसहरु आकाश, उपग्रह, ग्रह आदि तिर त्यसै स्याउँ स्याउँ घुमिरहेका छन् । समुन्द्र मुनि लिग वा सडक बनाउनु, पहाड छेडेर रोड बनाउनु आधुनिक मानिसका सामथ्र्यताको पहिचान हो । पृथ्वीका जीवहरुलाई क्षणिक समयमा ध्वस्त पार्ने एटम बम जस्ता घाती अस्त्र बनाउने मानव बुद्धिको प्रशंसा जति गरे पनि पुग्दैन । उक्त बम विस्फोटन गराउने बुद्धि न फिरोस् भन्ने कामना गर्नु औचित्य ठान्दछु । ५÷६ हजार वर्ष भित्रमा मानिसले सामाजिक, अर्थिक, बौद्धिक, धार्मिक आदिमा अनुसन्धान गरेर पृथ्वीमा मात्र होइन बाहिरका उपग्रह तथा ग्रह सम्मको अनुसन्धानमा सफल भएका छन् ।
डा. हरारेको कथन अनुसार मान्छेका अन्य किसिमका जातिलाई समेत विनाश गरी आफ्नै जातिले पृथ्वीमा रजाइ गरे । विज्ञानको विकास सँगै शत्रुपक्षलाई विनाश गर्ने साधन आधुनिक मानिसले आफ्नो दिमागमा लुकाइ राखेका छन् । आचारमा धेरै अगाडि परेका मान्छेको अरु प्राणीको दृष्टिमा अत्याचार पनि होलान् । ४ पाउले हिड्ने मान्छे प्लेन तथा रकेटको यात्रामा निस्कनु उत्कृष्ट मानिसको विकासलाई सृष्टिको पुष्प मान्नु पर्छ ।
कृषि विकासको सभ्यताबाट अगाडि लम्केको मानिस अहिलेको अवस्था आइपुग्नुलाई सभ्यताको शिखर मान्नु पर्छ । प्राचीन कालमा कृषिकार्यमा आफ्ना समुदायमा श्रम साँटासाँट गरेर लगाइएको खेतीले मनग्गे उत्पादन गर्दथे । अन्नमा धानलाई विशेष प्राथमिकतामा राख्थे । खाद्य बस्तु उब्जाएर जीवन यापन गर्न सजिलो बनाएको समय देखि आफ्नो खेती उत्पादनमा परोक्ष रुपमा सहयोग गर्ने एक निर्भयका प्रतीक ईश्वलाई मान्न थाले । खेती गर्दा श्रम, मल, वीउ, जल आदि मिलाएर उब्जीएको धानको राशीलाई ईश्वरीइ निगाहा मान्न थाले ।
अन्नपूर्णा वा प्रतीकको रुपमा सहको असीमित निगाहाले धेरै धान उत्पादन भएको विश्वास मानिसले लिन थाले । सहदेवीलाई भूमे पूजाको रुपले पुज्न थाले । धानको दाँइ गर्दा मीयोमा धेरै गोरुहरु बाँधेर खुसीसाथ गोरु धपाउँदै गीत फलाक्न थाल्ने चलन प्राचीन कालदेखि चलेर आएको उक्त संस्कृति तुहिने अवस्थामा पुगेको छ । दाँईमा खेतको खलोमा गोरुहरु बाँधेर धपाउँदा खुशीले दँगेरेले गाँउने कर्खा हो ! हो ! ब–रा–दो हो हो आफूले भोगेको सुनेको आफ्ना स्मरणका अनुभव निम्नानुसार पस्केको छु । यान्त्रीकरणको कारणले यो लोप हुने अवस्थामा पुगेको छ ।
धानको रोपाँइ गर्दा किसानीहरुले हर्षोल्लास साथ अत्यन्त व्यस्तताकासाथ रोपाइँ गर्छन् । त्यस समयलाई मुठी खाएर मुरी उत्पादन गर्ने विश्वास गर्छन् । खेत धनीलाई हिलो खुवाएर दक्षिणा लिने चलनले पनि विदा लिदैछ । रोपारहरुले खेतको ठुलो गरोमा गोलो बनाएर बीउ रोपेकोलाई भकारी कस्ने चलनले विदा लिँदैछ । सहदेवीलाई आह्वान गर्न धान पाके पछि शुभ साइतमा मुठी लिएर धानवाली काट्ने आरम्भ गरिन्छ । धान काटेर पाँजा सुके पछि कुन्यू लगाउने चलन थियो । कुन्यु लगाउदा एउटा ठूलो पाँजाको मुठोलाई तीन ठाउँमा बाँधेर खलोमा ठड्याइन्छ । त्यसलाई बूढी वा बुदी भनिन्छ । उक्त बूढीको फेदमा एउटा ढुङ्गाको शीला राखिन्छ । उक्त शीला राखेर त्यसमाथि बूढी ठ्डेयाउदा धुप हालेर मात्र कार्य प्रारम्भ गरिन्छ । कुन्यु चुल्याइ सकेपछि जुरो हाल्दा पनि धूप हाल्नु अनिवार्यता थियो । दाँईको दिनमा कुन्युको धान झारिसके पछि बूढीलाई एक दँगेरेले बोकेर मीयोमा दर्शन गराएर झाँट्नु पूर्व धूप दिनु पथ्र्यो । बूढीको फेदमा स्थापना गरिएको शीला धानको राशी ठड्याए पछि सारिन्छ । त्यही शीलालाई सहदेवी वा भूमिको प्रतीक मानेर अर्को दिन विहान पूजा गरिन्छ । खलोमै खाना पकाएर खाइन्छ जसलाई खलेजाँतो भनिन्छ । यसरी कृषकहरुका एक आपसी मायाँ, प्रेम, सद्भाव, कार्यशैली, खवाइ आदि एकताको उदाहरणीय पक्ष मान्नु पर्छ ।
दाँई गर्दा खेतको खलोको बीचमा टुप्पोमा हाँगा पात भएको रुखको मियो गाडेर मालदाम्ला द्धारा गोरुहरु बाँििधन्छ । गोरुलाई पराल्माथि रिँगाउने कार्यसँगै दँगेरेद्धारा पराल हुरल्ने, धान झाट्ने तथा केटाकेटीहरु परालमा उफ्रने क्रियानै दाँइ हो । दँगेरेले झाँटेको धानको मुठा मियोको नगिजमा पु¥याएर हुरलिन्छ । पराल र धानका झुस तथा टुँडा माडिन्छ । परालमा धान न अड्किने उपाय र पराल नरम बनाउने तत्कालीन प्रविधि पनि हो । गोरु धपाउँदै कुशल दँगेरेले हो ! हो ! ब–रा–दो हो हो बाट आफ्ना भाका फिराउछ । निम्न गितको अंश मैले अद्यापि संझिरहेको छु ।
हो ! हो ! ब–रा–दो ! हो ! हो
ए मीयोको गोरुले ब–रा–दो धान पराल छुट्याउँछ ।
ए ! ब–रा–दो हो ! हो
ए ! पाटीको गोरुले ब–रा–दो पराल स¥याउँछ ।
हो ! हो ! ब–रा–दो–हो ! हो
ए ! मीयोको गोरुले ब–रा–दो मीयो हल्लाउँछ ।
ए ! ब–रा–दो हो ! हो !
ए ! सिमल चरीले ब–रा–दो हाँगो समाउछ ।
हो ! हो ! ब–रा–दो हो ! हो !
हिन मेरा भाइ ब–रा–दो खुरु खुरु हिन ।
हिन मेरा भाइ ब–रा–दो हाम्लाइ साथ दिन ।
ए ! मीयो को टुप्पोमा ब–रा–दो हो बस्यो कोइली ।
ए ! आजका दँगेरेलाई ब(रा(दो डढेको चोइली ।
हो ! हो ब–रा–दो ब–रा–दा
ए ! सहदेवीले ब(रा(दो मान पाउली ।
ए ! भूमे देवीले ब(रा(दो पूजा पाउली ।
हिन मेरा भाइ ब–रा–दो हो ! हो राम्ररी हिन । आदी ।
अन्नपूर्ण देवीलाई अन्नको प्रतिष्ठार्थीको रुपमा आर्य समाजले पुजेको पाइन्छ । उनै देवीको तान्त्रीक रुप सहदेवी वा सिमलचरी मानिन्छ । तन्त्र शास्त्रले चरा लाई ईश्वरीय स्वरुप मान्दछ । हरेक चरालाई चारो दिएर स्वागत गर्दा इश्वरको सम्मान गरिएको मानिन्छ । आफ्ना घरको धुरीमा गिद्धबाहेक अन्य चराहरु बस्दा शुभ लक्षण मान्ने चलन अद्यापि छ । त्यसैले देवालयहरुमा सवै चाराहरुको प्रतीकको रुपमा शान्तिका अग्रदुत सेतो परेवा पाल्ने सँस्कृतिले अद्यापि निरन्तरता पाएको छ ।
त्यस्तै मन्दिरहरुको छानाको सुरमा ईश्वरको प्रतिकको रुपमा भाले इँट (गोंगया) भँगेरे इँट (चुखुँपा) तथा वायुपंखी घोडा र सिँह स्वरुप दिएर छानुमा राखे पूर्ण सुरक्षा हुने विश्वास पाइन्छ । यसरीनै अन्नपूर्ण देवीको तान्त्रीक रुपमा सहदेवी वा सिमलचरीलाई मानिन्छ । चराकी रुपकी सहदेवीको स्वागतार्थ दाँइको मीयोको टुप्पोमा हरियो फुर्को राखिन्छ । सहदेवी सधैँ रात्रीमा डुल्ने हुनाले दाँई पनि रातीहाल्ने चलन थियो । सहदेवीले मीयोमा स्पर्स गर्ना साथ धानको राशी बढ्ने विश्वास किसानमा थियो ।
त्यसैले दाँई सकेर एक दुई रात धानको राशी कुर्ने चलन थियो । धान कुरेको आधा रातमा धानको राशी भित्र हात घुसारेमा शहदेवीको प्रवेश हुन्छ भन्ने विश्वास थियो । धानको राशीबाट धान भर्न आरम्भ गर्दा पनि धूप हालेर पाथी लगाउने भन्ने चलन छ । प्राचीन कालमा धान भर्दा चराको प्वाँख प्राप्त भयो रे । उक्त प्वाँखलाई पोलेर खरानी बनाइ धानको राशीको वरपर रेखाले घेर्ने र राशीमा ॐ लेखेर धान भरेमा सह भकारीमा पुग्छ भन्ने मान्यता थियो । उक्त धान शुभ मुहुर्तमा खान आरम्भ गर्ने सँस्कृतिलाई न्वागी भनिन्छ ।
न्वागी खाँदा नयाँ चामललाई दही तथा अन्य मीठा मसला साथ कोरा सहित मुछेर आफ्ना देव देवतालाई अर्पण गरिन्छ । धेरै जातिले खानुपूर्व निधारमा उक्त दही चामल टीका लगाउने चलन छ । भकारी भरेर टाल्ने चलन सँगै उक्त भकारीको धान झिक्न पनि शुभ साइत हेरी धूप दिएर भकारी झिक्ने चलन छ । त्यसरी भित्र्याइएको धानको भकारीमा चरा, मुसा, पुत्ला आदि लाग्दैन भन्ने विश्वास थियो । यी आफूले बेहोरेको सँस्कृति आज इतिहास बन्न पुगेको जस्तो भयो । सह सँस्कृतिको पाख्यान क्षेत्र पिच्छे फरक सुनिएको छ । अस्तु ……
छाउनी धारापानी ७, गो.न.पा., गोरखा ।




