
विश्व धुम्रपान रहित दिवस र यसको सान्दर्भिकता
केदारराज पराजुली
परिचयः
मानव जगतको प्ररम्भ भए देखि नै कुनै कुनै रुपले आफ्नो जीवनको साथि जस्तै बनाएर आफ्नै जीवनलाई धुवाँजस्तै उडाउदै हरेक बर्ष करोडौं निर्दोष व्यक्तिहरु अन्जानमै मृत्युको सिकार भैरहेका छन् । अर्बाैं व्यक्तिहरु कुनै न कुनै रुपमा सुर्तिजन्य पदार्थको सेवनबाट हुने विरामीको पिडा सहि रहेका छन् । सुर्तिजन्य कुराहरु चाहे त्यो खैनी होस चाहे नस होस चाहे चुरोट वा विडी होस चाहे सिगार वा तमाखु होस् मानिसहरुले विभिन्न वाहनामा प्रयोग गरि रहेकाछन् । समयको हिसावले हेर्ने हो भने हजारौं बर्ष विति सकेको होलान हाम्रा पूर्वजहरुले सुरु गरेका सुर्तिजन्य पदार्थहरुको थुप्रो सगरमाथा भन्दा अग्लो हुने भइसकेको छ । सुर्तिजन्य पदार्थले ४०० भन्दा बढी प्रत्यक्ष असर गर्ने विषहरु पैदा गर्दछ जसले क्यान्सर, मृगौलाको रोग, मुटुको रोग, नशाको रोग, लगायत ५० औं किसिम भन्दा बढी रोगहरु लाग्दछ ।
हालको अवस्थाः
नेपाल तुलानात्मक रुपमा विश्वमै धुम्रपान धेरै गर्ने देशमा पर्दछ । संसारभर हरेक मिनेट १ करोड चुरोट विक्री हुन्छ भने हरेक दिन १५ अरब भन्दा बढी विक्री हुन्छ । हरेक ८ सेकेन्डमा १ जनाको मृत्यु सुर्तिजन्य सेवनको कारणले हुने गर्दछ भने हरेक १० जना मध्ये १ जना वश्यकको अकालमा मृत्यु संसार भरी चुरोट सेवनकै कारणले हुने गर्दछ । यही क्रम चल्ने हो भने सन् २०३० सम्म ६ जना मध्ये १ जनाको मृत्यु चुरोटकै कारणले हुन सक्ने पूर्व अनुमान गरिएको छ । युद्ध, हिंसा, अपराध, आत्महत्या, दुर्घटना आदि जस्ता थुप्रै मृत्युका कारणलाई दोब्बर पार्दा पनि धुम्रपानका कारणले हुने मृत्युको संख्या भन्दा धेरै हुन सक्दैन । विश्व स्वास्थ्य संगठनले गरेको एउटा अध्ययनबाट नेपालमा ३५.५ प्रतिशत पुरुषहरु र १५ प्रतिशत महिलाहरु धुम्रपान गर्ने गर्दछन् भने ३१.२ पुरुष र ४.६ महिलाहरु खैनि तथा गुड्का खाने गर्दछन् ।
औचित्य
धुम्रपान र सुर्तिजन्य पदार्थ सेवन आजको विश्वको लागि ठुलो चुनौती हो । कागजको पाना भित्र भरिएको सुर्तीको कसबाट निस्कने निकोटिनको यो लतबाट जोगाउन हरेक बर्ष मे ३१ तारिकका दिन धुम्रपान विरुद्धको दिवस मनाउन सुरु गरिएको छ । सन् १९८७ देखि यस दिनलाई धुम्रपान रहित दिवसको रुपमा मनाइदै आएको छ । यस दिवसको उद्देश्य धुम्र अर्थात धुवाँजन्य वस्तु पान अर्थात सेवन यस अर्थमा चुरोट गाँजा, कंकट, हुक्का, बिडी लगयात अन्य धेरै सुर्तिजन्य वस्तुको उपभोगका कारणले स्वास्थ्यमा पर्ने हानिको बारेमा आज संसार भरी जनजागरण फैलाउनु हो । यस बर्ष आर्थत सन् २०१८ को धुम्रपान रहित दिवसमा सुर्तिजन्य पदार्थको सेवन विषयमा जनजागरण सम्बन्धी “सुर्तिजन्य पदार्थको प्रयोग र हृदयरोगको सम्भावना” बिषयक मुख्य नारा रहेको छ । साथै सुर्तिजन्य पदार्थको सेवनले मुटु विर्गादछ, प्रत्यके दिनलाई सुर्तिरहित दिन बनाउ जस्ता सहायक नाराहरु पनि समावेश गरिएको छ । जीवन देखि मृत्यु सम्म अविचलित चलिरहने मुटुलाई सुर्तिजन्य पदार्थको सेवनले थप भार नदिऔं । यदि तपाई धुम्रपान गर्नुहुन्छ भने विस्तारै कमगर्दै जाने कोसिस गर्नुहोस । नत्र भने धुवाँको सर्कोले तपाईको मुटुको शक्तिलाई निल्दै जाने छ । चुरोट छोड्न चाहनेलाई सहयोग गर्नु हाम्रो दायित्व हो । प्रकृतिले दिइएको सफा फोक्सो, स्वस्थ मुटु अनि सुन्दर भविष्यलाई चुरोटको धुवाँसंगै उडाउने काम नगरौं ।
धुम्रपान जन्य पदार्थलाई कसरी कम गर्ने ?
नेपाल सरकारले ६ किसिमको नीति अपनाई देश भरीको महामारीको रुपमा रहेको सुर्तिजन्य पदार्थलाई घटाउने प्रयास गरेको छ ।
१. सुर्तिजन्य पदार्थको प्रयोग र प्रतिकारात्मक नीतिको अनुगमन गर्ने ।
२. जनतालाई धुम्रपानको असरबाट सुरक्षित गर्ने ।
३. धुम्रपान बन्दगर्न सहयोग गर्ने ।
४. धुम्रपानको प्रयोगबाट हुने खतराबारे सचेत गर्ने ।
५. धुम्रपान सम्बन्धी विज्ञापन र प्रर्वधनात्मक गतिविधिमा रोक लगाउने ।
६. धुम्रपानजन्य पदार्थको उत्पादनमा करको दायरा बढाउदै लैजाने ।
विद्यमान ऐन कानुनः
नेपाल सरकारले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ र नियमावली २०६८ जारी गरि सुर्तिजन्य पदार्थको प्रयोगमा कमी ल्याउने प्रयास गरेको छ । सार्वजनिक स्थल जस्तै सरकारी, कार्यालय, शिक्षण संस्था, अस्पताल, विमानस्थल, सार्वजनिक सवारी साधन, बृद्धाश्रम, अनाथलय, बालगृह, क्लब, सार्वजनिक शौचालय, कलकारखाना, चलचित्रघर, होटल, रेष्टुरण्ट, भोजनालय, चमेनागृह, लज, अतिथि गृह, रंगशाला, व्याम केन्द्र पौडीपोखरी, डिपाटमेण्टल स्टोर, मिनिमार्केट, धर्मशाला, सार्वजनिक सवारीका प्रतिक्षलय आदी ठाउँलाई धुम्रपान निषेशित क्षेत्र मानिएका छ । र सो क्षेत्रमा धुम्रपान गरेमा रु. १०० सम्म तत्काल जरिवाना गर्न सकिने कानुन बनाएको छ । त्यस्तै घर तथा नीजि सवारी साधन भित्र धुम्रपान गर्न नहुने नियम बनाएका छ । टेलिभिजन, पत्रपत्रिका, रेडियो, इमेल इन्टरनेट, बोर्ड भितेलेखन मार्फत विज्ञापन गर्न बन्देज लगाइएको छ । यदि गरेमा रु एक लाख सम्म जरिवाना हुनेछ । १८ बर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन बन्देज गरिएको छ । यदि कसैले त्यस्तो गरेमा रु. दस हजार सम्म जरिवाना तोकिएको छ । सार्वजनिक स्थल जस्तै विद्यालय, स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्राम र अनाथलयबाट १०० मिटर भित्रको वरिपरी सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने व्यवस्था गरिएको छ । कसैले पनि फुटकर रुपमा सुर्तिजन्य पदार्थ चुरोट विडी, वा सिगारको खिल्ली विरतण गर्न नपाउने व्यवस्था गरिएको छ । सुर्तिजन्य पदार्थ विक्री वितरण गर्न इजाजत लिनुपर्ने व्यवस्था गरिएको छ । सुर्तिजन्य पदार्थलाई आकर्षण हुने गरि बिक्री स्थल सजावट गर्न पाइनेछैन । व्यवस्थापकले आफुसंग सम्बन्धित सार्वजनिक स्थलको आवश्यकता अनुसार धुम्रपान तथा सुतिजन्य सेवन गर्न नपाउने व्यहोराको सुचना सबैले देख्ने र पढ्न सक्ने गरी टाँस गर्नुपर्ने । त्यस्तो सुचना टाँस गरेको नपाइएमा रु. पाँचहजार सम्म जरिवाना गर्न सकिने छ । सार्वजनिक स्थल जस्तै होटल, रेटुरण्ट, एरर्पोट, बसप्रतिक्षलयमा धुम्रपान सेवनको लागि छुट्याइएको स्थानमा धुम्रपान गर्न सकिने व्यवस्था गरिएको छ । चुरोट वा सुर्तिजन्य पदार्थको ९० प्रतिशत व्याकेटमा चेतना मुलक सन्देश वा संकेतहरु प्रयोग गरिएको हुनुपर्नेछ । यनि नगरेमा त्यस्तो सुर्तिजन्य पदार्थ जफत गरि रु. पचासहजार सम्म जरिवाना तोकिएको छ ।
लेखक जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख हुन् ।




