| मङ्लबार, साउन ११, २०८३

शान्ति सुरक्षाको अबस्था कमजोर


गोरखामा एकैदिन तीनवटा सवारी दुर्घटना भएको छ । गोरखा नगरपालिका ८ आहालेमा एउटा इकोभ्यानले ठक्कर दिँदा एक महिलाको मृत्यू भएको छ । गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा भएको एक सरकारी सवारीसाधन दुर्घटनामा दुई स्कुले बालबालिकासहित पाँचजना घाइते भएका छन् । त्यस्तै गोरखा नगरपालिका ६ हरमटारीचोकमा भएको मोटरसाइकल ठक्करमा दुईजना घाइते भएका छन् ।


एकैदिन भएको सवारी दुर्घटनाले गोरखामा सवारी नियम उल्लंघनको चित्र देखाउँछ । लापार्बाहीपूर्ण सवारीको क्रम बढेपछि दुर्घटना बढेको यसको संकेत हो ।
गोरखा बजार तथा आसपासका गाउँहरुमा चोरीको घटना बढिरहेका छन् । प्रहरीमा दिनहूँ चोरीका घटना दर्ता हुन आउँछ । एकातिर चोरीको घटना वृद्धि भइरहनु, अर्कातिर सवारी दुर्घटना बढिरहनु, यसले जिल्लाको शान्ति सुरक्षाको अबस्थामा नै प्रश्नचिन्ह उठाएको नकार्न सकिदैन ।
गोरखामा यसअघि आरएसीसी चेकिङ हुन्थ्यो । यो हटेको दुईबर्षभन्दा बढि भएको छ । यसले पनि सवारी लापार्बाहीमा मलजल गरिरहेको छ ।


बलात्कारका आरोपी पक्राउ नहुनु, जुवामा बरामद पैसाको यथासमयमा उचित व्यवस्थापन नहुनु जस्ता घटनाले प्रहरीप्रति आम नागरिकले हेर्ने दृष्टिकोणमा फरक परिरहेको छ । अर्कातिर प्रहरीको बाक्लो गस्ती नहुनु, विशेष सुरक्षा योजना बनाएर लागु नगर्नुले चोरीको घटना बढिरहेको विश्लेषण गर्न कठिन छैन ।


प्रहरीले सवारी चेकिङमा देखाएको उदासिनताका कारण मात्र सवारी दुर्घटना बढेको होइन । चालकको लापार्बाही सवारी दुर्घटना बढ्नुको जड कारण हो । सवारी दुर्घटनामा प्रहरी घाइते हुने, प्रहरी मर्ने होइन, सर्वसाधारण नागरिकको जनधनको क्षति हुने हो । त्यसैले सबैभन्दा पहिले त चालक सचेत, सजग हुनुपर्छ । अनि प्रहरीले सवारी चेकजाँचमा कडाइ गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्