| आइतवार, कार्तिक २२, २०८३

पर्याप्त सतर्कता अपनाएर लकडाउन खुलाएकै राम्रो

भाग्यवश गोरखामा हाल सक्रिय कोरोना संक्रमितको संख्या जम्मा एकजना छन् ।

उनको पनि हालसम्म स्वास्थ्य अबस्था सकुशल रहेको छ । कुनै अकल्पनीय दुर्भाग्य भएन भने अबको दुईचार दिनभित्र उनी पनि आइसोलेशनबाट डिस्चार्ज हुने अस्पतालको पूर्वअनुमान छ ।

गोरखाबाट परीक्षण गर्न पठाइएको तर रीपोर्ट नआएकाको संख्या १६६ छ । क्वारेण्टिनमा रहेका तथा कन्ट्याक ट्रेसिङ गरिएकाहरुको यो संख्या हो । अरु जिल्लाको तुलनामा यो संख्या हेर्दा दुखद छैन, सुखद नै छ ।

समुदायमा छ्यास्छ्यास्ती फैलिएको छैन । नियन्त्रित नै छ ।
रोग चिन्ताको बिषय त पक्कै हो, तथापि काठमाडौं, तराईका जिल्ला तथा सीमावर्ती धादिङ, चितवन, तनहूँ जत्तिको जोखिम जिल्ला पनि होइन ।

कोरोना अझै लामो समयसम्म रहिरहने विज्ञहरुको अनुमान छ । यद्यपि स्पेनिस फ्लु भन्दा कम समयभित्रै अर्थात दुईबर्षभित्र नियन्त्रण हुने विज्ञहरुको भनाइ सार्वजनिक भइरहेका छन् । रुसलगायतका देशमा खोप पत्ता लागेका, प्रयोग सफल भएका झिना मसिना समाचारहरु पनि आइरहेका छन् ।

सञ्चार माध्यम, सामाजिक सञ्जाल तथा बिभिन्न माध्यमबाट कोरोनाबाट सजग हुन, सतर्क रहन आम जनमानसमा बारम्बार, तारन्तार सचेत गराएकाले मान्छेहरु आशातीत संयम, सजग, सतर्क नै देखिन्छन् । दोस्रो चरणको लकडाउन(निषेधाज्ञा) पालनामा यो संकेत देखियो ।

संक्रमितको संख्या न्यूनत्तम, मान्छेहरुमा देखिएको सावधानी र विदेशतिर गरेको अभ्यासलाई मनन गरी अब गोरखाको निषेधाज्ञालाई बिस्तारै खुकुलो बनाउनु उत्तम हुन्छ ।

सीमा नाकामा हुनुपर्ने जति कडाइ भएको देखिदैन । बरु त्यता कडाइ गर्ने नयाँ विधि अपनाई जिल्लाभित्र पूर्ववत खुकुलो बनाउनु नै जात्ति हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्