गोरखामा उग्र जुलुसको नजिर बन्दै
गोरखाको सडक केही दिनदेखि नारा र जुलुशले तताइरहेको छ । श्यामहरि घिमिरे हत्याकाण्ड, रवि लामिछाने पक्राउ काण्ड र अहिले पूजा परियार हत्याकाण्ड ।
केहीदिनदेखिको भीडको गतिबिधि विश्लेषण गर्दा पछिल्लो दिन, आइतबारको भीड बढि अराजक देखियो । ‘हत्यारालाई फाँसी दे’ लगायतका नारासहित प्रहरी कार्यालयतर्फ बढेको भीड र प्रहरी बीच लामै समय धकेलाधकेल भयो । अन्त्यमा एक निर्दोष महिलामाथि आक्रमण समेत भयो । आफैले जुलुसमा सामेल गराएर ल्याएकी जुनुमाया परियारमाथि भीड खनियो । लगाएका कपडा च्यातचुत पारेर सडकमा लछारपछार गरियो । दिनभरिको रापतापको आक्रोश आफ्नै जुलुसमा सहभागी एउटी महिलामाथि पोख्ने दुश्प्रयास भयो । जुन भत्र्सनायोग्य क्रियाकलाप हो ।
जब मान्छेको हत्या हुन्छ, तब यस्तै भीड लाग्छ । यी केही घटनाले भावी दिनमा पनि भीड लाग्ने परम्पपरालाई सबलीकरण गर्दै लान्छ । फलानाको मृत्यू(हत्या) हुँदा यति शक्ति प्रदर्शन भयो, यति आक्रमक भयो भने हाम्रो आफन्तको मृत्यू(हत्या) हुँदा चुपचाप बस्नै हुदैन । नत्र हामी शक्तिहीन साबित हुन्छौं भन्ने भावनाको विकास हुदैजान्छ । अनि दिनानुदिन नाराजुलुस, आक्रमक हुदै जाने क्रम विकास भइरहेको छ । यो रोक्नु जरुरी छ ।
यस्ता घटनाको सीघ्रातीसीघ्र अनुसन्धान, छानबीन र निश्पक्ष निसाफ गर्नु प्रहरी प्रशासन, अदालतको पहिलो कर्तव्य हो । ‘भीडले निसाफ गर्दैन, ग¥यो भने राम्रो हुदैन’ भन्ने कुरा नागरिकले पनि बुझ्नु जरुरी छ ।
सर्वसाधारणले नबुझे नागरिक अगुवाले बुझाउनु जरुरी छ । नाराजुलुस अनियन्त्रित भयो भने, हिंसा भड्क्यो भने को जिम्मेवार ? त्यसैले भीड, हुलहुज्जतलाई दुरुत्साहन गर्नुपर्छ । सभ्य र संयमित ढंगले न्याय माग्ने विधि छन् । यस्ता श्रृङ्खला दिनानुदिन बढिरहे, यस्ता नजिर बस्दै गएमा प्रहरी प्रशासनले नियन्त्रणका लागि विशेष पहल गर्नुपर्ने हुन्छ ।




