
नागरिक समाज र स्थानीय सरकार बीचको सहकार्यका अवसर र चुनौतीहरू
स्थानेश्वर दुवाडी :
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यबस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृध्दिको आकांक्षा पुरागर्न संविधान सभाबाट परितभै जारी भएको नेपालको संबिधान बमोजिम संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भै निर्वा्चित जन प्रतिनिधीहरूले शासन संचालन गरेको अवस्था छ ।
नेपाली नागरिकहरूको आफ्नो लागि आवश्यक कानून आफैं निर्माण गर्न पाउने अधिकारको प्रचलन भएको छ । नागरिकहरूको लामो प्रतिक्षापछि आफैंबाट निर्वा्चित प्रतिनिधी मार्फत शासन गर्ने अवसर प्राप्त गर्दा नागरिकहरूले शान्ती, सुशासन र परिवर्तनको चाहना राख्नु, विकास निर्माणको कुरामा तिब्र अपेक्षा राख्नु र त्यसमा पनि स्थानीय सरकारबाट बढ्ता अपेक्षा राख्नु कुनै अस्वभाविक कुरा होईन । भर्खरै मात्र संघीय स्वरूपमा प्रवेश गरेको, लामो समय सम्म स्थानीय निकाय जनप्रतिनिधी विहिन रहेको, स्थानीय तहको लागि आवश्यक ऐन, कानूनको निर्माणको कार्य सम्पन्न भै नसकेको, स्थानीय तहमा साधन श्रोत पर्याप्त नभएको कारण जन अपेक्षा पुरा गर्न स्थानीय सरकारलाई कठीनाई परिरहेको छ । यस अवस्थामा नागरिकहरूको भावनालाई आत्मसाथ गर्दै स्थानीय निकायबाट कार्य सम्पन्न हुन सके नागरिकहरूले साँचो अर्थमा लोकतन्त्रको अनुभूती गर्न पाउने अवस्थाको सृजना हुन्छ । नागरिकहरूले लोकतन्त्रको अनुभूती गर्न सक्ने अवस्थाको सृजना गर्न निर्वाचीत जन प्रतिनिधीहरूको साथै नागरिक समाजको समेत उतिकै भूमिका र जिम्बेवारी रहन्छ ।
स्थानीय सरकारः
स्थानीय निकाय स्थानीय सरकार हो । स्थानीय तहमा स्थानीय जनप्रतिनिधीहरूनै रहन्छन् । स्थानीय बासीन्दाको सुखःदुख सुन्ने र उनीहरूको विश्वास संस्थागत गर्ने राज्यको प्रारम्भिक संरचना स्थानीय तह हो । स्थानीय स्तरको विकासको प्रमुख जिम्वेवारी पनि स्थानीय तहकै छ । स्थानीय तहलाई निर्णय गर्ने, कार्यान्वयन गर्ने, आवश्यक नीति नियम तयार गर्ने, स्थानीय स्तरका केही विवादहरूको निरोपण गर्ने, समाजमा शान्ती, सुब्यबस्था र सद्भाव कयम गराउने, वातावरण संरक्षण गर्ने अधिकार पनि छ ।
स्थानीय साधन श्रोत ब्यबस्थापन र परिचालन गर्न स्थानीय निकायलाईनै सहज हुन्छ । स्थानीय तहले लोकतन्त्रका अवसरहरू घर आँगनमा पुर्यााउनु पर्दछ । स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पध्दतिलाई सुदृढगरी स्थानीय तहमा विधायीकी, कार्यकारिणी र न्यायीक अभ्यासलाई संस्थागत गर्न स्थानीय सरकारको गठन भएको हो । स्थानीय सरकारले जनभावना अनुरूप काम गर्न सकेमात्रै नागरिकहरूले साँचो अर्थमा लोकतन्त्रका लाभहरूको उपभोग गर्न सक्दछन् । नागरिक समाजः
स्वतन्त्र बुध्दिजिवीहरू, स्थानीय समाजसेवीहरू, सेवामा समर्पित संघ संस्थाहरू, स्थानीय स्तरमा गठन भएका उपभोक्ता समितिहरू आदिको समूहनै नागरिक समाज हो । नागरिक समाज प्रजातन्त्रप्रति प्रतिवध्द, मानव अधिकारका हिमायती, राजनीतिमा प्रत्यक्ष संलग्नता नभएको, अग्रगामी सुधारको पक्षपाती, राजनितिक पार्टी, सरकार र संस्थाहरूलाई सही बाटोमा मार्गदर्शन गर्न अग्रसर आफैंमा सचेत र निष्ठाबान समूह हो । नागरिक समाज गैर राजनीतिक, स्वयंसेवी, आत्मनिर्भर, स्वयत्त र संगठित समूह हो, जुन जनहीत र सार्वजनिक विषय बस्तु संग सरोकार राख्दछ । राज्यको हस्तक्षेप र नियन्त्रणबाट मुक्त रहन्छ । जन विरोधी कृयाकलापको विरूध्दमा आवाज उठाउनुको साथै राज्य र नागरिक बीच पुलको काम गर्दछ । आवाज विहिनहरूको आवाज बन्दछ । सरकारलाई सही बाटोमा हिंडाउन दवाव मुलक काम गर्दछ । अहिलेको अवस्थाः
समाजमा विकासको गति अगाडी बढाउनु, नागरिकहरुलाई लोकतन्त्रको अनुभूती गराउनु, लोकतान्त्रीक पद्दतीलाई संस्थागत विकास गर्नु, मानव अधिकारको संरक्षण गर्नु, दिगो शान्ति, सुशासन, विकास र समृध्दिको आकाँक्षा पुरागरी नागरिकको भावना बमोजिम काम गर्नु अहिलेको आवश्यकता हो । परिवर्तित सन्दर्भमा अहिले नागरिकहरुमा स्थानीय सरकार प्रति धेरै अपेक्षाहरू जागृत भएका छन् तर नागरिकहरूले अपेक्षाकृत सन्तुष्टि प्राप्त गर्न सकेका छैनन् । रोजगारीको लागि विदेशिने युवाहरूको संख्या दिनदिनै बढीरहेको छ । काम गर्ने मानिसको अभावमा ग्रामिण भेगमा खेतीगर्ने जमिन बाँझो रहेका छन् । लैंङ्गिक हिंसाका घटनाहरूमा कमी आउन सकेको छैन ।
यौन दुर्ब्यबहार, बलात्कारका घटनाहरू बढीरहेका छन् । जेष्ठ नागरिकहरू हेंला र तिरस्कारको शिकार भएका छन् । पतिपत्नी बीच सम्बन्ध बिच्छेदका घटनाहरू बढीरहेका छन् । स्वास्थ्य सेवामा नागरिकहरूको सहज पहुँच पुग्न सकेको छैन । लागु पदार्थको दुर्व्यसन दिन प्रतिदिन बढेको छ । पुनर्निर्माणको कार्यले अझै पुर्णता पाउन सकेको छैन । यस अवस्थामा स्थानीय सरकारले नागरिकको भावना लाई आत्मसाथ गर्दै जनचाहना बमोजिम कामगर्नु निकै चुनौतीपुर्ण रहेको छ । नागरिकहरूको बीचमा आपसी विश्वास र सद्भाव अभिबृध्दि गर्दै नागरिकहरूको भावना बमोजिम स्थानीय सरकारका कार्यहरू संचालन गर्ने, स्थानीय सरकार र नागरिकहरूको बीचमा पुलको काम गर्ने, लोकतन्त्रको सुदृढिकरण र संस्थागत विकासको लागि स्थानीय निकाय र नागरिक समाज बीचको सहकार्य अत्यन्त महत्वपुर्ण अवसर हो ।
नागरिक समाज संग सहकार्य किनः
नागरिक समाजले राजनैतिक दल र प्रशासन यन्त्रलाई नागरिक प्रति उत्तरदायी बनाउने काम गर्छ । सुशासनको प्रत्याभूती गराउन क्रियाशिल रहन्छ । राज्य तथा राजनैतिक दलहरूलाई उनीहरूको जिम्वेवारी प्रति घच्घच्याउने काम गर्छ । राजनीतिलाई जन उत्तरदायी बनाउन क्रियाशिल रहन्छ । गै.स.स. लाई स्वच्छ राख्ने प्रयत्न गर्छ । सामाजिक बिकृति बिसंगती विरूद्द आवाज उठाउने काम गर्छ । निजी क्षेत्रमा सेवा र मुनाफालाई आदर्श बनाउन दवाव दिने काम गर्छ । संचार क्षेत्रलाई कमजोर बर्गको साथी र राज्यलाई घच्घच्याउने साधनको रूपमा लैजान प्रयास गर्छ । प्रजातान्त्रीकरणको लागि रचनात्मक बाताबरण तयार गर्ने र कमजोर बर्गको पीडा सार्वजनिक गर्ने काम नागरिक समाजले गर्दछ ।
स्थानीय तहले शुशासन कायम गर्न, विकासको गतिलाई तिब्र पार्न, नागरिकहरूलाई परिवर्तनको अनुभूती गराउन, बिभिन्न सरकारी एबं गैह्र सरकारी निकायहरूबाट नागरिकहरूलाई उपलब्ध हुने सेवा सुबिधालाई प्रभावकारी बनाउन, समाजमा रहेका जातीय बिभेद, बोक्सीको आरोप जस्ता परम्परागत अन्धविश्वास र रूढीवादलाई अन्त्य गर्न र आम नागरिकहरूले मैले भयमुक्त बाताबरणमा मैले मेरा अधिकारहरू उपभोग गर्न पाउँछु भन्ने विश्वास गर्ने वातावरण तयार गर्नसके साँचो अर्थमा नागरिकहरूले लोकतन्त्रको अनुभूती गर्न सक्ने भएको हुँदा र यसको लागि स्थानीय निकाय र नागरिक समाज बीचको सहकार्य अत्यन्त आवश्यक छ ।
सहकार्यको अवसरः
लोकतन्त्रको संस्थागत विकास र सुशासन नागरिक समाज र स्थानीय सरकारको साझा एजेण्डा रहेको, नागरिक समाज स्थानीय सरकारलाई मजबुत बनाउन, स्थानीय स्तरबाटै लोकतन्त्रको संस्थागत विकास गर्न तयार रहेको, नागरिक समाजले स्थानीय सरकारलाई सचेत गराउने र जन भावना अनुकुल काम गर्न दवाव दिने भएको कारण स्थानीय सरकार र नागरिक समाज बीच सहकार्य आवश्यक छ ।
सहकार्यका चुनौतीः
स्थानीय सरकार नागरिक समाज बीचको सहकार्य जति महत्वपुर्ण छ उतिकै चुनौती पुर्ण पनि छ । सहकार्यले एकातर्फ स्थानीय जन प्रतिनिधीहरूले नागरिक समाजबाट आफ्ना कार्यक्रमहरूमा हस्तक्षेप गरेको महशुस गर्न सक्ने अवस्था आउन सक्छ भने अर्कोतर्फ नागरिक समाजको आफ्नो स्वतन्त्र पहिचानमा कमी कमजोरी आउन सक्छ । नागरिक समाजले जुन हैसियतमा स्थानीय सरकारलाई खबरदारी गर्नुपर्ने हो त्यसमा कमी कमजोरी आउन पनि सक्छ । स्थानीय सरकार र नागरिक समाजले एक अर्कोको कमजोरी देख्ने तर सहकार्य आवश्यक नदेख्ने हुनसक्छ ।
निष्कर्षः
स्थानीय सरकार र नागरिक समाज बीचको सहकार्यले समाजमा विकासको गति अगाडी बढ्छ । स्थानीय सरकारलाई आवश्यक मानवीय श्रोत नागरिक समाजले उपलब्ध गराउन सक्छ । स्थानीय तहमा निर्णयको अधिकार छ । स्थानीय ब्यक्तिहरूनै स्थानीय प्रतिनिधी भएको कारण स्थानीय समस्याको बारेमा जानकार छन् । नागरिक समाज संगको सहकार्यले स्थानीय सरकारलाई स्थानीय साधन श्रोत ब्यबस्थापन र परिचालन गर्न सहज हुन्छ । स्थानीय सरकार अनुगमन, मुल्याङ्कन र नियमनकारी निकाय पनि हो नागरिक समाज संगको सहकार्यले यसमा मध्दत पुग्छ ।
स्थानीय स्तरमै लोकतन्त्रलाई सुदृढ बनाउनु र शान्ति सुब्यबस्था कायम गर्नु स्थानीय सरकार र नागरिक समाजको सवाल साझा हो । स्थानीय सरकार र नागरिक समाजले हिजो लोकतन्त्र प्राप्तीमा सबैको योगदानलाई बिर्सन हुँदैन । सहकार्यले एक अर्कोलाई बल पुग्छ । सहकार्यले नागरिकहरूको भावना समेटीन्छ । स्थानीय सरकारमा नागरिकहरूको पहुँच बृध्दि हुन्छ । नागरिकहरूले परिवर्तनको अनुभूती गर्न सक्छन् ।
लेखक अधिबक्ता हुन् ।




