| शुक्रबार, बैशाख १७, २०८३

किसानलाई राहत प्रदान गर

यसबर्ष धान रोपाईँका बेला पर्याप्त पानी परेन, जसले गर्दा कैयौँ किसानहरुले रोपाइँ गर्न पाएनन् । असोजमा बेस्सरी पानी प¥यो, जसले गर्दा धानको बोट ढल्ने समस्याले किसानहरुलाई सतायो । अहिले धान काटेर खेतका गरामा सुकाएका बेला पुन पानी परेर भिजायो ।

कैयौँ किसानको धान काट्नै नपाई बोटमै उम्रिए, कैयौँ किसानको धान गरामा सुताएकै ठाउँमा उम्रिएका छन् । व्यापार, बिजनेश गर्नेहरुले बिमा गरेका हुन्छन्, क्षति भयो भने पनि बिमा दाबी गर्छन्, तर दुख गरेर, श्रम गरेर पेट पाल्ने किसानको यो हविगत छ । उनीहरुले बिमा गर्ने जुक्ति पनि हुदैन । बर्खाभरि दस नङ्ग्रा खियाएर काम ग¥यो, फसल भित्र्याउने बेला यो अबस्थाको सामना गर्नुपर्छ अनि किसान मारमा पर्छन् ।

गोरखाका ठूला फाँटहरु जस्तै पालुङटार ९ को खारखोलास्थित कुँडुलेफाँट, बुडुवाफाँट, चुक्तीखोलास्थित सेराफाँट लगायतका फाँटहरु, वडा नं. १, वडा नं. २, वडा नं. ३, ४, ५, ६ का ठूला फाँटहरुमा ठूलो परिमाणमा धानखेती नष्ट भएका छन् । त्यस्तै गोरखा नगरपालिकाको पनि वडा नं. १०, ११, १२, ३, ५ का ठूला फाँटहरुमा पनि धान नष्ट भएका छन् । त्यस्तै सिरानचोकका, बारपाक सुलिकोटका विभिन्न फाँटहरुमा पनि धान खेती क्षतिग्रस्त छन् । आरुघाट गाउँपालिका, भीमसेनथापा, सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकाका भित्र्याउने बेला भएका धान खेती क्षतिग्रस्त भएका छन् ।

घरपालुवा पशुपंक्षीको क्षति भएमा पनि किसानले राहत पाउँछन् भने प्राण धान्ने खेतीबालीमा क्षति हुँदा त झन् राहत दिनु उचित हुन्छ । तर सरकारले यसप्रति ध्यान दिएको छैन । गाउँमा समाजसेवा गर्ने राजनीतिक नेतृत्वहरुले किसानहरुलाई राहत दिने यस्ता काममा पहलकदमी लिनु उचित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्