| आइतवार, कार्तिक २९, २०८३

प्रहरी

स्वेदशी लगानीमा बुढीगण्डकी आयोजना निर्माण गर्नुपर्ने विप्लवको जोड

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बूढी गण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिन लागिएकोमा विरोध जनाएको छ । सो पार्टीको गोरखा र धादिङको जिल्ला संगठन समितिले चिनियाँ कम्पनीसँग भएको आयोजना निर्माण सम्झौता खारेजको माग गर्दै पुष ५ गते आरुघाट वजारमा र ८ गते गोरखा बजारमा विरोधसभा गर्ने तयारी गरेको छ । विगतमा नेपालको विभिन्न जलविद्युत परियोजनाको जिम्मा लिएर पनि काम पूरा गर्न नसकेकाले गेजुवा ग्रुपलाई बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा दिन नहुने विप्लव नेतृत्वको नेकपाका जिल्ला संगठन समिति गोरखाका सेक्रेटरी कपिल भट्टले बताए । ६० मेगावाटको त्रिशुली ३ ए को निर्माण तोकिएको समयमा सम्पन्न गर्न नसकेको, चिलिमे जलविद्युत परियोजनाको सम्झौता खारेज गरि नेपाल सरकारले धरौटी जफत गर्नुपरेको, ३० मेगावाटको चमेलिया जलविद्युत परियोजना १० वर्षमा पनि निर्माण सम्पन्न गर्न नसकेको कम्पनीले जलाशययुक्त बूढी गण्डकी आयोजनाको निर्माण गर्न नसक्ने नेकपाको दावी छ ।
विश्वासनियता र कार्यक्षमता नै नभएको कम्पनीलाई राष्टिूय गौरवको जलविद्युत परियोजना निर्माणको जिम्मा दिन नहुने भट्टको भनाई छ । बूढीगण्डकी आयोजना को निर्माण स्वदेशी पूँजीबाटै गर्नुपर्नेमा नेकपाको जोड छ । गोरखा र धादिङको जिल्ला संगठन समितिले संयुक्त रुपमा विशेष अपिल जारी गर्दै नेपालीकै लगानीमा सो आयोजना बनाउन सकिने आधार पनि पेश गरेको छ । कुल २ खर्ब ६० अर्ब रुपैयाको लगानीमा ८ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य राखिएकाले स्वेदशी पुँजी जुटाउन कठिनाई नहुने विप्लव नेतृत्वको नेकपाको ठहर छ । परियोजना निर्माणको ८ वर्षे अवधीभित्र पेटूोलियम पदार्थमा लगाइएको करबाट मात्रै १ खर्ब हाराहारी रकम जम्मा गर्न सकिने र नेपाल सरकारको वार्षिक १२ खर्बको वजेटमध्ये १ प्रतिशतमात्रै बूढी गण्डकीका लागि छुट्याउँदा पनि ८ वर्षमा अर्को १ खर्ब हाराहारीकै वजेट संकलन हुने सो पार्टीको अपिलमा उल्लेख छ ।
यस्तै नेपाल सरकारकै लगानीमा बूढीगण्डकी आयोजनाको निर्माण भएमा नेपाली सेनाको कल्याण कारी कोष, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, बैङ्क तथा वित्तीय संस्था, उद्योगी ब्यवसायी र सर्वसाधारणको सेयरबाट नपुग रकम जम्मा गर्न सकिने सो पार्टीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्