| बिहिबार, बैशाख ३०, २०८३

विद्यार्थी संगठनहरु दुई प्यानलमा बाँडिएर स्ववियू चुनाव लड्दै

गोरखाका सबै विद्यार्थी संगठनहरु दुई प्यानलमा बाँडिएर स्ववियू चुनावमा होमिने भएका छन् । सत्तापक्षीय दल कांग्रेस र एमालेका विद्यार्थी संगठनहरुको एउटा प्यानल बनेको छ भने समाजवादी मोर्चाका बिद्यार्थी संगठनहरुको अर्काे प्यानल बनेको छ ।
विभिन्न पद बाँडफाँटसम्बन्धी समझदारीपछि कांग्रेस संवद्ध नेपाल विद्यार्थी संघ र एमाले संवद्ध अनेरास्ववियुले संयुक्त विज्ञप्ति जारी गरी चुनावी तालमेल गरेको जनाएका छन् । त्यसैगरी माओवादी केन्द्र संवद्ध अखिल(क्रान्तिकारी), विप्लव नेतृत्वको नेकपा संवद्ध अखिल समाजवादी र नेकपा (एकीकृत समाजवादी) संवद्ध विद्यार्थी संगठन अनेरास्ववियू बीच पद बाँडफाँटमा समझदारी बनेपछि संयुक्त विज्ञप्ति मार्फत उनीहरुले गठबन्धन भएको सार्वजनिक गरेका हुन् ।
नेविसंघका जिल्ला सभापति शिवहरि तिमिल्सिना र अनेरास्ववियुका अध्यक्ष दीपेन्द्र मालबुलद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा गोरखा क्याम्पस र द्रव्यशाह बहुमुखी क्याम्पसको सभापति पदमा नेविसंघलाई उम्मेद्वार बनाउने उल्लेख गरिएको छ ।
गोरखा क्याम्पसमा उपसभापति, सचिव, सहसचिवमा अनेरास्ववियुका उम्मेद्वार बनाउने र अध्यक्ष र कोषाध्यक्ष पदमा नेविसंघका उम्मेद्वार उठाउने सहमति भएको बताइएको छ । त्यस्तै पाँच सदस्य पदमा दुई नेविसंघलाई र तीन अनेरास्ववियुलाई दिने सहमति भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै द्रव्यशाह बहुमुखी क्याम्पसमा सभापति, उपसभापति, सचिव, सहसचिव र चार सदस्य पदमा नेविसंघका उम्मद्वार उठाउने र कोषाध्यक्ष र एक सदस्य अनेरास्ववियुका उम्मेद्वार उठाउने सहमति भएको विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।
त्यस्तै समाजवादी मोर्चा अन्तर्गत गोरखा क्याम्पस र द्रव्यशाह बहुमुखी क्याम्पस दुवैमा सभापति पदमा अखिल (क्रान्तिकारी)का उम्मेद्वार बनाउने सहमति भएको छ । मोर्चाले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार गोरखा क्याम्पसमा उपसभापति र एक सदस्यमा अखिल समाजवादी, एक सदस्य अनेरास्ववियू र बाँकी सवै पदहरुमा अखिल क्रान्तिकारीबाट उम्मेद्वार बनाउने सहमति भएको छ ।
त्यस्तै द्रव्यशाह बहुमुखी क्याम्पसमा सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष, सहसचिव तथा तीन सदस्यमा अखिल(क्रान्तिकारी) र अखिल(समाजवादी) र अनेरास्ववियुबाट एक÷एक जना सदस्य उम्मेद्वार बनाउने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।
दुवै गठबन्धनले त्रिभुवन विश्वविद्यालयको स्ववियू निर्वाचनसम्बन्धी कार्यतालिका अनुसार मंगलबार उम्मेद्वारी दर्ता गरेका छन् । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) संवद्ध विद्यार्थी संगठन नयाँ शक्ति बिद्यार्थी युनियनले समाजवादी मोर्चासँग गठवन्धन गर्ने निर्णय गरेपनि पछिल्लो समयमा गठवन्धनबाट अलगिएको जानकारी गराएको छ । सो बिद्यार्थी संगठनले आफूहरुलाई सहयोग गर्ने सत्तापक्षीय गठवन्धनले जनाएको छ ।
भिमोदय क्याम्पस आरुघाट र भवानी क्याम्पस पालुङटारको स्ववियू चुनाव भने यसअघि नै स्थगित भएको छ । प्राविधिक कारणले चुनाव स्थगित गरिएको सम्बन्धित क्याम्पसहरुले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्