
बर्खा अगावै निर्माणाधीन सडक व्यवस्थित गर्न नेविसंघको माग
निर्माणाधीन अवस्थामा रहेका गोरखा जिल्लाभित्रका सडकहरु बर्खा अगावै व्यवस्थित गरी सहज आउजाउको व्यवस्था मिलाउन नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति गोरखाले माग गरेको छ ।
शुक्रवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै नेविसंघले बर्खाको समयमा सम्बन्धित निकायको चरम लापरवाहीले शैक्षिक, व्यवसायिक र नागरिकको जनजीवनमा प्रत्यक्ष असर पर्ने गरेको बताएको छ । सहकारी ठगीमा संलग्नहरुलाई कानूनको दायरामा ल्याउन तत्काल संसदीय छानविन समिति गठन गर्न पनि सो ध्यानाकर्षणपत्र माग गरिएको छ ।
‘सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्ने सहकारी ठगहरुलाई छानविनको दायरामा ल्याई कानूनी कारवाही गर्न माग गर्दछौ,’ ज्ञापन पत्रमा भनिएको छ ।
विश्वविद्यालय तथा उच्च शिक्षण संस्थाको स्थापना, संचालन, नियमन र व्यवस्थापन सम्बन्धी कार्यलाई सहजिकरण र व्यवस्थित गर्न विश्वविद्यालय छाता ऐन सम्बन्धी बिधेयक तत्काल प्रतिनिधि सभामा प्रस्तुत गर्न पनि नेविसंघले माग गरेको छ ।




