उत्तरी गोरखामा विकास माग्न नयाँ जनगणना
दरौँदी ः सिँहदरबारको अधिकार गाउँगाउँ मा भन्ने नारालाई व्यवहारमा उतार्दै गोरखाको एक वडा कार्यालयले तथ्याङ्क बिभागले १०÷१० बर्षमा गर्ने जनगणनाको काम आफैले गरेको छ । आठबर्ष अघिको जनगणनाअनुसार अहिले काम गर्दा नमिल्दो भएको भन्दै चुमनुब्री गाउँपालिका वडा नं. ४ को कार्यालयले आफ्नो वडाभरिको जनगणना गरेको वडाअध्यक्ष पेमा डुण्डुप लामाले जानकारी दिए ।
तथ्याङ्क बिभागको गत २०६८ सालको जनगणनामा साबिक प्रोक गाविसको जनसंख्या ५७५ थियो । घरधुरी संख्या १७८ थियो । अहिले चुमनुब्री गाउँपालिका ४ प्रोकको जनसंख्या ८९१ र घरधुरी संख्या २१७ रहेको अद्यावधिक गरिएको छ । ‘आठबर्षअघिको जनसंख्या र घरधुरी संख्या भन्दा अहिले धेरै बढेको छ । विकास निर्माण पनि त्यही अनुपातमा गर्नुपर्छ’, वडाअध्यक्ष लामाले भने, ‘थोरै जनसंख्या र थोरै घरधुरी संख्या भएपछि वडामा आउने बजेट पनि थोरै नै हुने भएकाले मैले खास जनसंख्या पत्ता लगाउन जनगणना गरेको हुँ । अब पक्का पनि बिगतको तुलनामा बजेट तथा कार्यक्रम बढेर आउनेछ । विकासको काम पनि त्यही अनुसार गर्नुपर्नेछ ।’
अघिल्लो आर्थिक बर्ष प्रोक, क्वाक, छाक र गप गाउँ रहेको वडा नं. ४ लाई एक करोड ४७ लाख बजेट परेको थियो । धेरै जनसंख्या भएको वडालाई धेरै र थोरै जनसंख्या तथा घरधुरी संख्या पनि थोरै भएकाले आफूले गतबर्ष बजेट पनि तुलनात्मक रुपमा थोरै पाएको उनको भनाइ छ ।
‘२०६८ सालमा जनगणना गर्दा टोलीका कर्मचारी घरघरमा नपुगी तथ्याङ्क संकलन गरेकाले सही तथ्याङ्क आएको थिएन,’ पेमा भन्छ्न्, ‘त्यसैले बास्तविक जनगणना गर्न थालेको हुँ । अब गाउँपालिका, जिल्ला समन्वय समिति र सांसद कोषको पैसा पनि आद्यावधिक गरिएको जनगणनाको अनुपातमा बढाएर माग गछौैं ।’ जति दुर्गम भयो, त्यति बजेट बढाएर दिनुपर्नेमा जति दुर्गम भयो, उति नै बजेट घटेर आएको भन्दै उनले चिन्ता व्यक्त गरे । वडाअध्यक्ष लामाका अनुसार प्रोकमा एकजना पनि तामाङ समुदायका मान्छे छैनन् । तर २०६८ को जनगणनाको परिणाममा प्रोकमा सबै तामाङ समुदाय मात्र भएको उल्लेख छ । त्यो बेला गणना गर्दा पढ्न तथा कामको सिलसिलामा गाउँबाहिर बसोबास गर्नेको गणना नै नगरिएको वडाअध्यक्ष लामाको भनाइ छ ।
वडा कार्यालयले गत असार महिनामा जनगणना गरेको हो । गणक टोलीमा वडा सदस्य र सहयोगीहरु सहभागी थिए । उनीहरुलाई दैनिक भत्ता र खानेबस्ने ब्यबस्था वडा कार्यालयले गरेको अध्यक्ष लामाले बताए । उनीहरुले घरधुरी संख्या, जनसंख्या र मानेकानेहरुको गणना गरेकाछन् । प्राप्त तथ्यांक अनुसार सो वडामा १५ वटा सामुदायिक र आठवटा नीजि गुम्बाहरु रहेका छन् ।




