| बुधबार, कार्तिक २५, २०८३

देशको कार्यकारी पदमा गोरखाको वर्चस्व : प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म

 ‘न्याय नपाए गोर्खा जानु’ पुरानो लोकोक्ति हो । तर अहिलेको गोरखाले न्याय दिने ठाउँमा धेरै जनालाई पठाएको छ । अहिले प्रदेशका मुख्यमन्त्रीदेखि मुलुकका प्रधानमन्त्रीसम्म गोरखाका सांसद रहेका छन् ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गोरखा–२ चर्चामा थियो । २०६४ सालदेखि नै नेपाली राजनीतिको केन्द्रमा रहेका पुष्पकमल दाहालले उम्मेदवारी दिएसँगै गोरखा–२ को चर्चा बढेको थियो । त्यसो त २०६४ सालको संविधानसभामा गोरखा–२ मा निर्वाचित तत्कालीन माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री बनेका थिए । २०७४ सालमा उक्त क्षेत्र झन् रोचक बन्यो । कुनै समय एउटै पार्टीमा रहेका बाबुराम भट्टराई नयाँ शक्ति पार्टीबाट उठे भने नारायणकाजी श्रेष्ठ माओवादीबाट । कांग्रेसको समर्थनमा चुनाव भने भट्टराईले जिते ।

यस पटक गोरखा–२ बाट प्रतिनिधिसभामा निर्वाचित पुष्पकमल दाहाल पुस १० यता प्रधानमन्त्री छन् । गोरखा–२(२) प्रदेश सभाबाट विजयी सुरेन्द्रराज पाण्डे पनि बिहीबार गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएसँगै राजनितिक लाभ पाउनेमा गोरखा अग्रस्थानमा पुगेको छ ।

गोरखाबाट निर्वाचित सांसद दाहाल प्रधानमन्त्री छन् भने राष्ट्रिय सभा सदस्यसमेत रहेका नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री छन् । प्रदेशसभामा पनि गोरखाबाट निर्वाचित सांसद पाण्डे मुख्यमन्त्री छन् भने नेकपा माओवादी केन्द्रबाट गोरखा १(१) प्रदेश सभामा निर्वाचित सांसद कृष्ण धिताल सभामुख छन् । शुक्रबार मुख्यमन्त्री पाण्डेले शपथग्रहण गरेसँगै गोरखाबाट समानुपातिक सांसद बनेकी सुशीला सिंखडा विभागीय मन्त्री नियुक्त भएकी छिन । उनी यसअघि माओवादी गण्डकी प्रदेशको सचेतक थिइन् ।

मंसिर ४ को निर्वाचनका उम्मेदवारी दर्ता गरेर प्रचारमा होमिँदा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहालले भावी प्रधानमन्त्रीका रूपमा आफूलाई प्रस्तुत गरेका थिए । गोरखा–२ का मतदातामाझ प्रधानमन्त्री बनेरै गोरखाको मुहार फेर्ने उनको आश्वासन थियो । प्रतिनिधिसभामा दाहाल उम्मेदवार बनेपछि नेपाली कांग्रेस जिल्ला कार्यसमितिबाट गोरखा–२ को प्रतिनिधिसभामा उम्मेदवारीका लागि सिफारिस परेका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्रीको आश्वासनपछि प्रदेशमा झरेर उम्मेदवारी दिए । चुनावी प्रचारकै क्रममा पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले समेत पाण्डेलाई मुख्यमन्त्रीको मुख्य दाबेदारका रूपमा प्रस्तुत गर्दै चुनावी कोणसभालाई सम्बोधन गर्ने गर्थे ।

चुनावी तालमेलका क्रममा गोरखा–२(२)बाट उम्मेदवार बनेका पाण्डे १६ हजार ८ सय ८२ मतसहित विजयी बने । दाहाल गठबन्धन फेरेर एमालेसहितको नयाँ गठबन्धनको सहयोगमा प्रधानमन्त्री बन्दा पाण्डेको मुख्यमन्त्री बन्ने चाहनामा भने ठेस लाग्यो । पुनः सत्तासमीकरणमा आएको फेरबदलबाट पाण्डे बिहीबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभामा गोरखाका ११ सांसद छन् । माओवादी केन्द्रबाट प्रतिनिधिसभा र प्रदेशसभामा २/२ जना, कांग्रेसबाट प्रदेशसभामा २ र प्रतिनिधिसभामा १, एमालेबाट प्रतिनिधिसभा र प्रदेशसभामा १/१ र नेपाल समाजवादी पार्टीबाट गण्डकी प्रदेशसभामा १ जना सासंद गोरखाका छन् ।

माओवादीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पुष्पकमल दाहाल र समानुपातिकतर्फबाट हितराज पाण्डे सांसद छन् । माओवादी केन्द्रका केन्द्रीय सचिवसमेत रहेका पाण्डे प्रतिनिधिसभामा माओवादीका सचेतकसमेत हुन् । प्रदेशसभा १(१)बाट निर्वाचित कृष्ण धिताल गण्डकी प्रदेशसभाका सभामुख छन् । समानुपातिकमा निर्वाचित सुशीला सिंखडा गण्डकी प्रदेशको विभागीय मन्त्री नियुक्त बनेकी छिन् । कांग्रेसबाट प्रतिनिधिसभा गोरखा–१ बाट प्रत्यक्षतर्फ राजेन्द्र बजगाईं सासंद छन् ।

प्रदेशसभातर्फ गोरखा–१(२)मा नन्दप्रसाद न्यौपाने प्रदेश सांसद छन् । प्रतिनिधिसभा–२(२) प्रदेशसभामा निर्वाचित सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बनेका छन् । कांग्रेसकै तर्फबाट कमला पन्त राष्ट्रिय सभा सदस्य छिन् । त्यस्तै एमालेको कोटाबाट नेपाल परिवार दलका अध्यक्ष समेत रहेका एकनाथ ढकाल समानुपातिक तर्फबाट प्रतिनिधिसभा सासंद छन् । गोरखा–२(१) बाट बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)का फणिन्द्र देवकोटा प्रदेशसभा सांसद छन् । नेकपा एमालेको तर्फबाट वाग्मती प्रदेशसभा सदस्यमा समानुपातिकबाट पालुङटारका दिनेशचन्द्र देवकोटा पनि सासंद छन् । राजनीतिक लाभको पद गोरखाले वर्चस्व जमाएको बेला विकास निर्माणले फड्को मार्ने भन्दै मतदाता आशावादी देखिन्छन् ।

निर्वाचनपछि जनताको अपेक्षा धेरै रहेकाले त्यसतर्फ ध्यान दिन शिरानचोक गाउँपालिका–४ का सीपी पोखरेलले नवनियुक्त मुख्यमन्त्री पाण्डेलाई सुझाव दिए । ‘राजनीतिक परवर्तनसँगै आर्थिक परिवर्तन हुनुपर्छ भन्ने जनताको चाहना छ, व्यवस्था परिवर्तनको आन्दोलन सकिएपछि अवस्था परिवर्तन गर्नेतर्फ लाग्नुपर्छ,’ उनले भने । निर्वाचनका बेला गरेको वाचा पूरा गर्नेतर्फ ध्यान दिनुपर्ने कांग्रेस कार्यसम्पादन समिति सदसयसमेत रहेका पोखरेल बताउँछन् ।

‘निर्वाचन लड्दै गर्दा प्रचण्डजी भावी प्रधानमन्त्री र उहाँ मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरेर प्रचारमा लाग्यौँ, दुवै जना राज्यको उपल्लो निकायमा पुग्नुभयो,’ उनले भने,‘प्रचार गर्दा धुले बाटो पिच गर्छौं भन्नुभएको छ, निर्वाचनमा बोलेका ती कुरा हेक्का राख्नुपर्‍यो ।’ गोरखाको विकासमा अहिलेको सत्ताको बागडोर सम्हालेकाहरूबाट निराशा छाउने काम हुन नहुने उनले बताए । ‘कानुन र विधिको शासनको अंगिकार गर्नुपर्‍यो, सरकार विधिको शासनभन्दा थोरै बाहिर जान खोजेको हो कि भन्ने आभास देखिन्छ,’ उनले भने,‘जनताको चाहना प्रत्यक्ष राहत पुग्ने खालको कार्यक्रममा छ, त्यसमा फोकस बनेर अघि बढ्नुपर्छ ।’

नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाका सचिव किशोरजंग थापा पनि प्रदेशको सीमित स्रोत साधानलाई सही सदुपयोग गरेर अघि बढ्नुपर्ने बताउँछन् । ‘उहाँ(मुख्यमन्त्री पाण्डे) समस्या बुझेका र व्यवहारिक हुनुहुन्छ, स्थानीय समस्यामा जानकारी राख्नुहुन्छ,’ उनले भने,‘ अब जनअपेक्षा पूरा गर्नका लागि निर्भीक भएर अघि बढ्नुपर्छ, जनताको अपेक्षा असीमित छन्, प्रदेशको स्रोत साधन समिति छ, प्रदेशको स्रोत साधन जति छ त्यसको सही सदुपयोग गर्नेतर्फ लाग्नुपर्छ ।’

साभार : कान्तिपुर अनलाइन

प्रतिक्रिया दिनुहोस्