| बुधबार, कार्तिक २५, २०८३

गोरखाका सुरेन्द्र पाण्डे बने गण्डकी प्रदेशको मुख्यमन्त्री

खगराज अधिकारी मुख्यमन्त्री बनेपछि उनको पक्षमा विश्वासको मत माग्दै राप्रपाबाट मन्त्री बनेका पञ्चराम तमुले भनेका थिए, ‘यदि नेशनल खेलाडी गाउँको क्लबमा आएर खेल्छ भने एउटै खेलाडीका कारणले पनि गाउँको क्लबले विजय प्राप्त गर्न सक्छ । मुख्यमन्त्री राजनीतिमा नेशनल खेलाडी हो ।’

५ दलीय गठबन्धनबाट चुनाव जितेका तर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड र कांग्रेस सभापति देउवाका विश्वास पात्र जो त्यतिबेला प्रमुख प्रतिपक्षी दलका नेता बनेका सुरेन्द्र पाण्डेले थाहा पाइसकेका थिए कि केन्द्रमा सत्ता समीकरण परिवर्तन हुनेवाला छ । त्यसैले पाण्डेले पनि जवाफ दिए, ‘सत्ता पक्षमा राष्ट्रिय खेलाडी आउनुभएको छ । यति पनि याद गर्नुस्, डिफेन्डरमा पनि देशको राष्ट्रिय खेलाडी नै छ । यसअघि २५ मिनेटमै अर्कैले सत्ताको गोल ग¥यो, अब हामी फर्काउँदैछौं ।’

नभन्दै उनै सुरेन्द्रराज पाण्डे अहिले गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त हुन सफल भएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे संविधानको धारा १६८(२) अनुसार बिहिबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।

पाण्डे गत प्रदेशसभा निर्वाचनमा गोरखाको प्रदेश निर्वाचन क्षेत्र २ को २ बाट निर्वाचित भएका थिए । उनी कांग्रेस, माओवादी लगायतका दलको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका हुन् । कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेको भनिएका राजीव गुरुङ (दीपक मनाङे) सहित ३५ सांसदको समर्थनमा सुरेन्द्रराज मुख्यमन्त्री बनेका छन् ।

यसअघि गठित एमाले नेतृत्वको सरकार गत शनिबार ढलेको थियो । तर माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले पहिलो पालोमा आफू मुख्यमन्त्री हुनुपर्ने अडान राखेपछि नयाँ सरकार गठनमा विलम्ब भएको थियो । तनहुँ–१ मा १० वैशाखमा उपचुनाव थियो, चुमान पनि त्यही क्षेत्रबाट प्रदेशसभा सदस्य चुनिएका थिए ।

त्यसैले मुख्यमन्त्रीमा आलोपालो गर्न कांग्रेस तयार भयो । तर पहिलो पालोमा को भन्ने विवाद नटुंगिदा बिहीबार अपरान्ह मात्र मुख्यमन्त्री नियुक्ति हुन सक्यो ।

सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिएको ३ दिनको समय सकिनै लाग्दा पनि चुमानले पहिला आफू मुख्यमन्त्री हुनुपर्ने अडान छाडेका थिएनन् । माओवादी संसदीय दलका नेता चुमानले केन्द्रको निर्देशन नआएको भन्दै कुनै छलफल र बैठकमा भाग लिएनन् ।

अन्त्यमा दुई दलका शीर्ष नेताहरुको रोहबरमा काठमाडौंमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै पहिलो पालोमा कांग्रेस नेता पाण्डे नै मुख्यमन्त्री हुने बताएपछि सो गाँठो फुकेको थियो ।

अहिले आफ्नो दलले कति मन्त्री पाउने र मुख्यमन्त्री कहिले फेरिने स्पष्ट हुनुपर्ने भन्दै चुमान काठमाडौं पुगेका थिए । शीर्ष नेताको छलफलबाट निर्णय दिने वचन पाएको भन्दै पोखरा फर्किएका चुमानले बिहीबारसम्म पनि सजिलै छाडेनन् । कति समयपछि मुख्यमन्त्री छोड्ने लिखित रुपमै सहमति हुनुपर्ने उनको अडान छ ।

प्रदेश प्रमुखले दिएको समय सकिने बेला चुमानले बल्ल मुख्यमन्त्री दाबीका लागि माओवादीले समर्थन दियो ।
संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनमा माओवादीले खोंचे थाप्न सक्ने कांग्रेसको अनुमान थियो । तर प्रदेश प्रमुखले १६८ (२) बमोजिम नै आह्वान गरे, कांग्रेसले अनुमान गरेजस्तै माओवादीले अड्डी लियो ।

शीर्ष नेताहरुको हस्तक्षेपपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त भए । अब गण्डकीमा २२ सदस्य जितेको एमाले र २ सांसद रहेको राप्रपा प्रतिपक्षमा रहने छ ।

४ मंसिरको चुनावमा कांग्रेस, माओवादीसहित ५ दलले गठबन्धन बनाएर चुनाव लडेका थिए । राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता भइसकेका सुरेन्द्रराज पाण्डे गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यकै चुनाव लड्न चाहन्थे । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन छाडेर गोरखा २ आएपछि उनी प्रदेशमा निर्वाचन लड्न पुगेका हुन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र २(२) मा गठबन्धनको साझा उम्मेदवार बनेका पाण्डेलाई पार्टी सभापति शेरबहादुर देउवा मात्र होइन, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए ।

६० सदस्यीय प्रदेशसभामा कांग्रेसको एक्लै २७ सिट आयो भने माओवादीको ८ सिट । गठबन्धनको सहज बहुमत भएकाले मुख्यमन्त्री हुनेमा पाण्डे ढुक्क थिए । मुख्यमन्त्री हुने योजनाका साथ प्रदेशसभा झरेका एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी भने प्रतिपक्षी दलको नेता मात्र बन्ने अवस्था बन्यो ।

तर १० पुसमा प्रचण्डले कांग्रेसको साथ छाडेर एमालेसँग गठबन्धन गरेपछि प्रदेशमा पनि उलटफेर भयो । एमाले संसदीय दलका नेता अधिकारी, माओवादी र राप्रपाको समर्थनमा मुख्यमन्त्री बने भने कांग्रेस संसदीय दलका नेता पाण्डे प्रतिपक्षी दलको नेता भए ।

मुख्यमन्त्री नियुक्त भएको ४ दिनमै पुस २९ गते अधिकारीले प्रदेशसभामा विश्वासको मत लिए ।
प्रधानमन्त्री प्रचण्डले १२ फागुनमा गठबन्धन फेरेर रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन गरेपछि गण्डकी प्रदेशमा पनि पाण्डेलाई मुख्यमन्त्री बन्ने ढोका खुलेको थियो ।

को हुन् सुरेन्द्रराज पाण्डे

गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे विद्यार्थी राजनीतिबाट उदाएका हुन् । २०२१ भदौ ९ गते जन्मिएका पाण्डे विद्यार्थी कालादेखि नेपाली कांग्रेसको भातृसंस्था नेविसंघमा आबद्ध थिए । २०३७ सालमा अमरज्योती जनता मावि गोरखाबाट एसएलसी उत्तीर्ण गरेका पाण्डेले त्रिभुवन विश्वविद्यालबाट स्नातक गरेका छन् ।

२०३६ सालमा नेविसंघको सदस्यता लिएर विद्यार्थी आन्दोलनमा प्रवेश गरेका उनी २०३९ सालमा नेबिसंघका अस्कल इकाइ सचिव हुँदै २०४५ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति निर्वाचित भए ।

२०४९ मा नेविसंघको केन्द्रीय सदस्य समेत भएका पाण्डे २०५९ मा नेपाल तरुण दलको महासचिव बने । हाल तेस्रो पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित उनीसँग २०७४ सालमा राष्ट्रिय सभामा सांसद रही नेपाली कांग्रेसकोतर्फबाट प्रमुख प्रतिपक्ष दलको नेता बनेर काम गरेको अनुभव छ ।

२०८९ मंसिर ४ गतेको निर्वाचनबाट उनी गोरखा २ (ख) मा गठबन्धनको उम्मेदवार बनेर जितेका हुन् । राजनीतिक संघर्षका क्रममा २०४५ साल, शाही शासन २०६१ सालमा गरी झण्डै ८ महिना भन्दा बढी समय जेल जीवन बिताएका छन् ।

गोरखा क्षेत्र नम्बर २ मा संघीय क्षेत्रमा एकल सिफारिस भएका पाण्डे कांग्रेस र माओवादीको चुनावी तालमेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आउने भएपछि मुख्यमन्त्री बन्ने योजना सहित प्रदेशमा उठेका हुन् ।

प्रतिक्रिया दिनुहोस्