| बुधबार, कार्तिक २५, २०८३

युवाहरुको विदेश पलायन रोक्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले युवाहरु विदेश पलायन हुने क्रम रोक्न र स्वदेशमै रोजागरीका लागि योजनाबद्ध व्यवस्था गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार नेपाली युवाको श्रम र सीपलाई विदेश पलायन हुनबाट रोकी स्वदेशमै रोजगारीको वातावरण बनाउनका लागि योजनाबद्ध व्यवस्था गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

त्यस्तै, नेपाली जनताले हरेक क्षेत्रमा हुने चरम भ्रष्टाचार, महंगी, राष्ट्रघात र सामाजिक विभेदको समस्याहरू हरपल झेल्नु परेको बताउदै किसानहरूलाई उपयुक्त समयमा नै मल, बिउ, औजारको सस्तो र सुलभ व्यवस्था गरिनुपर्ने, कृषिजन्य उत्पादनको आयातलाई नियन्त्रण गर्नुपर्ने, कृषि उत्पादनका लागि उचित अनुदानको व्यवस्था गर्नुका साथै शक्ति र पहुँचका भरमा गरिने अनुदानरूपी भ्रष्टाचार बन्द गरिनुपर्ने ज्ञापन पत्रमा माग गरिएको छ ।

अनाथ, अपाङ्ग, वृद्ध र बालबालिकाको राज्यद्वारा उचित संरक्षण प्रदान गरिनुपर्ने, दस वर्षसम्म सञ्चालित जनयुद्ध र विभिन्न जनआन्दोलन तथा जनसंघर्षका क्रममा घाइते योद्धाहरूको उपचार तथा जीविकाको पूर्ण सुनिश्चितता गर्नुपर्ने, नेपाल र भारत बीच भएका असमान सन्धि–सम्झौताहरू खारेज तथा पुनरावलोकन गरिनु पर्ने ज्ञापन पत्रमा भनिएको छ ।

त्यस्तै, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासका लागि उद्योग, व्यापार र वित्तीय क्षेत्रमा विदेशी एकाधिकार पुँजीको आधिपत्य अन्त्य गरिनुपर्ने, ब्रिटिश गोरखा भर्तीकेन्द्र र भारतीय सेनाका लागि नेपाली सैन्य भर्ती खारेज गरिनुपर्ने र महिला हिंसा तथा लैंगिक विभेद, जातीय विभेद, वर्णविभेद, मुस्लिम तथा मधेसी समुदायमाथिको विभेद अन्त्य गरिनुपर्ने नेकपा बहुमतको संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ द्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्