
प्रेस चौतारी गोरखाद्धारा स्थापना दिवसको अवसरमा कारागारलाई पुस्तक प्रदान
प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा गोरखा शाखाले गोरखा कारागारका कैदीवन्दीका लागि पुस्तक उपलब्ध गराएको छ । कारागारमा रहेको पुस्तकालयका लागि कानून, कृषि, आख्यान लगायत विधाका २५ थान पुस्तक उपलब्ध गराइएको जिल्ला सचिव रविकिरण रेग्मीले बताउनुभयो ।
प्रेस चौतारीका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज किरण लोहनीले कारागार कार्यालयका प्रमुख गणेशप्रसाद भट्टराईलाई पुस्तक हस्तान्तरण गर्नुभयो ।
पुस्तक ग्रहण गर्दै भट्टराईले कारागारको पुस्तकालयमा समसामयिक विषयका पुस्तकको अभाव रहेको बताउनुभयो । पछिल्लो समय बजारमा आएका आख्यान र गैरआख्यान विधामा पुस्तकको माग भएपनि नियमित वजेटबाट खरीद गर्न नसकिने भएकाले यसप्रकारको सहयोग महत्वपूर्ण हुने बताउनुभयो ।
कैदीवन्दीको फुर्सदको समय सदुपयोगका साथै ज्ञानको दायरा बढाउन प्राप्त पुस्तक उपयोगी हुने उहाँको विश्वास छ । कार्यक्रममा बोल्दै चौतारीका केन्द्रिय सदस्य लोहनीले २५ औं स्थापना दिवसका अवसरमा साँकेतिक रुपमा केही थान पुस्तक उपलब्ध गराइएको बताउँदै थप पुस्तक सहयोग गर्ने बताउनुभयो ।
प्रेस चौतारीका जिल्ला उपाध्यक्ष सुजन न्यौपानेले ब्यवसायिक पत्रकारीताक नियमित कामका अतिरिक्त सामाजिक महत्वका काममा पनि संगठनले चासो दिँदै आएको बताउनुभयो ।
चौतारीका जिल्ला अध्यक्ष अश्विन दानीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव काजीराम रोका, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव कैलाशबाबु श्रेष्ठ, प्रेस सेन्टर नेपालका केन्द्रिय उपमहासचिव दिपक श्रेष्ठ, प्रेस युनियनका जिल्ला अध्यक्ष नरन्द्र ढकाल सहितका पत्रकार, कर्मचारी र सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो ।




