
पृथ्वीजयन्ती र सार्वजनिक विदाप्रति क्रान्तिकारी माओवादीको विरोध
पुस २७ गते पृथ्वीनारायण शाहको ३०१ औँ जयन्ती मनाउन सरकारले आव्हान गरेको पृथ्वीजयन्ती तथा सार्वजनिक विदाप्रति नेकपा(क्रान्तिकारी माओवादी)ले विरोध गरेको छ ।
संघीय गणतन्त्र कार्यान्वयनको चरणमा रहेको अबस्थामा पूर्व राजाको जन्मजयन्ती मनाउनु प्रतिगामी कदम भएको भन्दै सो पार्टीले यस्ता निर्णय खारेजीको माग समेत राखेको छ ।
साथै गोरखामा नेपाली सेनासित समन्वय गरी गोरखा नगरपालिकाले पृथ्वीनारायण शाहको सालिक स्थापना गर्ने, त्यसमा दैनिक नियमित सलामी अर्पण गर्ने कार्यक्रमप्रति क्रान्तिकारी माओवादी पार्टीले चर्को विरोध गरेको छ ।


‘पछिल्लो प्रतिनिधिसभा र प्रदेशसभाको चुनावबाट राजावादी, राष्ट्रघाती र पश्चगामी शक्तिहरु बलियो हुँदै गइरहेको अबस्थामा राजतन्त्र पुनस्थापना गर्ने प्रतिगामि कदमहरु चाल्न थालिएको छ’, पार्टीका जिल्ला सेक्रेटरी अविरलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कदमले नेपाली जनता, क्रान्तिकारी गोरखाली जनताले जनयुद्ध र जनआन्दोलनमा बगाएका रगत र दिएका ज्यानको बलिदानी, सहिद तथा घाइते योद्धाप्रतिको घोर अपमान हो ।’
नेकपा(क्रान्तिकारी माओवादी) ले केन्द्र सरकार तथा स्थानीय सरकारको निर्णयको घोर भत्र्सना गर्दै जनयुद्ध, जनआन्दोलन र जनसंघर्षका उपलब्धीहरुको रक्षा गर्न र त्यसको तयारीमा लाग्न आव्हान गरेको छ ।




