| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा लघुवित्तप्रति नेकपा(बहुमत) आक्रमक

लघुवित्त वित्तीय संस्थाहरुले गाउँघरका सर्वसाधारण विशेषगरी महिलाहरुलाई ठगी गरेको नेकपा(बहुमत)ले आरोप लगाएको छ । सो पार्टीले आइतबार विज्ञप्ति जारी गरी गाउँघरका सिधासाधा महिलाहरुलाई ठगी गर्न छाड्न चेतावनी दिएको छ ।
‘७७ जिल्लाका ५८ लाख दिदीबहिनीहरु लघुवित्त वित्तीय संस्थाहरुमा समूह बनाई आवद्ध छन् ।

३३ लाख तीन हजार महिलाहरुमा ९१ अरब ७५ करोड कर्जा प्रवाह गरिएको छ’, सो पार्टीको गोरखा जिल्ला इञ्चार्ज कमल खड्का र संयोजक नवराज ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘व्याज, पेन्सन बचत, सेवाकर, बैठक शुल्क, जरिबाना जस्ता विभिन्न शीर्षक बनाएर संस्थाले दिदीबहिनीहरुलाई ठगी गर्दै आएको छ ।

कैयौँ दिदी बहिनीहरुले लघुवित्त वित्तीय संस्थाको कारण आत्महत्या समेत गरेका छन्, कैयौँ दिदीबहिनीहरु घरबार बिहिन समेत भएका छन् ।’ यस्ता दुर्गती हुने गरी महिलामाथि गरिएको निर्मम ठगी बन्द गर्न सो पार्टीले सचेत गराएको छ । अन्यथा लघुवित्तको शोषणविरुद्ध संघर्षमा उत्रने विज्ञप्तिमार्फत कडा चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्