| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा गठबन्धनलाई प्रभावकारी बनाउन कार्तिक २० गतेदेखि सबै पालिकाका भेला तथा प्रशिक्षण हुने

गोरखामा चुनावी गठबन्धनलाई प्रभावकारी बनाउन कार्तिक २० गतेदेखि सबै पालिकामा भेला तथा प्रशिक्षण हुने भएको छ । नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा विहिबार बसेको गठबन्धनको वैठकले कार्तिक २० गतेबाट सबै पालिकास्तरमा भेला र प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको हो ।

आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको चुनावी अभियानलाई प्रभावकारी बनाउन गठबन्धन दलका युवा तथा विद्यार्थीहरुको भेला तथा प्रशिक्षण कार्य सुरु गर्ने वैठकले निर्णय गरेको हो । चुनावी प्रचारप्रसार अभियानलाई तिब्रता दिन वडास्तरमा गठबन्धनको संयन्त्रलाई परिचालन गर्ने र त्यसका लागि आवश्यक व्यवस्थापन मिलाउने निर्णय गरेको छ ।

त्यस्तै, जिल्लाका सबै वडामा र आवश्यक पर्ने स्थानमा कोणसभा तथा मतदाता भेटघाट कार्यक्रम आयोजना गर्ने र सो कार्यक्राममा गठबन्धनका उम्मेदवार उपस्थित हुनुपर्ने वैठकले निर्णय गरेको छ । चुनावी अभियानलाई प्रभावकारी बनाउन हालसम्म देखिएका समस्याहरुलाई सुधार गर्दै प्रचार अभियानलाई तिब्रताका साथ अगाडि बढाउने समेत वैठकले निर्णय गरेको छ ।

माओवादी जिल्ला अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा भएको वैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य पूर्ण दाहाल, नेपाल समाजवादी पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्ट, नेकपा एकीकृत समाजवादी पार्टीका विश्वेश्वर कट्टेल, नेकपा माओवादी केन्द्रका अमर तमु, नेपाली कांग्रेसका जिल्ला सचिव किशोरजंग थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्