| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा स्वयमसेविकाले घरदैलोमा मतदाता शिक्षा दिने

गोरखाको सबै वडाका महिला स्वास्थ्य स्वयमसेविकाले मतदाता शिक्षा दिने भएका छन् । ११ वटै स्थानीय तहमा निर्वाचन सम्पर्क ब्यक्ति तोकेर उनीहरुमार्फत महिला स्वास्थ्य स्वयम सेविकालाई तालिम दिई खटाउन लागिएको निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

मतदान कसरी गर्ने, मतदान गर्दा ध्यान दिनुपर्ने कुराका बारेमा घरघरमा पुगेर शिक्षा दिनेछन् । ‘पालिकाका एक÷एक जना कर्मचारीलाई यो बारेमा प्रशिक्षण दिएर पठाइएको छ’, गोरखाका प्रमुख जिल्ला अधिकारी एवं मतदाता शिक्षा समन्वय समितिका संयोजक शंकरहरि आचार्यले भने । उनीहरुले पालिकाभित्र हरेक वडामा महिला स्वास्थ्य स्वयमसेविकालाई मतदाता शिक्षाको बारेमा तालिम दिएर खटाउनेछन् । स्वयमसेविकाहरुले मतदाता शिक्षा दिए÷नदिएको अनुगमन हुने प्रजिअ आचार्यले बताए ।

निर्वाचन आयोगले पठाएको प्रचार सामग्री, मतदाता शिक्षा सम्बन्धी सामग्रीहरु, नमुना मतपत्र, पोष्टर, पम्प्लेट, सबै पालिकामा पठाइएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोईरालाले बताए । पालिकाको एक ठाउँमा धेरै जना सहभागी गराउने गरी नमुना मतदात पनि सबैले गर्नुपर्नेछ ।

मतदाता शिक्षा प्रभावकारी भए नभएको बारेमा जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समिति र पालिका स्तरमा प्रमुख प्रशासकीय अधिकृत, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षले अनुगमन गर्नेछन् ।
मतदाता शिक्षामा सहभागी पालिकाका प्रतिनिधिलाई तालिम दिएर सामग्री सहित पठाईसकिएको जिल्ला निर्वाचन अधिकारी कोईरालाले बताए । जिल्ला स्तरीय समन्वय समितिले मतदाता शिक्षा दिने, तालिम दिएर सामग्री सहित परिचालन गर्ने निर्णय अनुसार काम भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्