
प्रदेशको नाममा मतभेद
प्रदेशको नामकरणमा सत्तापक्षीय सांसदकै बीचमा विवाद देखिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलमा प्रदेशको नाम गण्डकी राख्ने वा गण्डकी तमुवान भन्नेमा विवाद बढेको हो ।
अधिकांशको चाहना गण्डकी रहे पनि केहीले तमुवान थप्नुपर्ने भन्दै अड्डी कसेका छन् । दुई पटकसम्म दलको बैठक बसे पनि समान धारणा नबनेपछि संसद्मा नामकरणको विषय केही पछि धकेलिने सम्भावना छ । प्रदेश ४ को स्थायी राजधानी तथा नामकरणसम्बन्धी प्रतिवेदन असार १० को प्रदेशसभा बैठकमा टेबल भइसकेको छ । आइतबारदेखि छलफल सुरु भए पनि टुंगो नलागेको हो ।
सर्वसम्मत नाम राख्नुपर्नेमा सबै सहमत छन् । नामको विषयमा भने गम्भीर मतभेद देखिएको एक सांसदले बताए । उनका अनुसार विशेष गरी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र तत्कालीन माओवादी सांसद तमुवान थप्नुपर्ने अडानमा देखिन्छन् ।
प्रदेशसभाले गत चैत १२ मै प्रदेश राजधानी र नामकरण विषयक समिति गठन गरेको थियो । समितिले असार १० मा टेबल गरेको प्रतिवेदनमा प्रदेशका विभिन्न ४ वटा नाम सिफारिस गरिएको थियो । प्राथमिकताका आधारमा पहिलो गण्डकी, दोस्रो तमुवान मगरात, तेस्रो गोरखा र चौथो धौलागिरी आएका थिए । राजनीतिक दलबाट प्राप्त सुझावका आधारमा भने प्रदेशको नाम गण्डकी राख्न समितिले सिफारिस गरेको थियो । समिति संयोजक सांसद विन्दुकुमार थापाले प्रदेशका सबै ११ जिल्ला पुगेर नामका विषयमा सुझाव संकलन गरिएको बताए । त्यस क्रममा ३ सय ४६ जना अर्थात् ४५ दशमलव ४० प्रतिशतले गण्डकी राख्नुपर्ने सुझाव दिएका छन ।
यस्तै २ सय ६० (३४ दशमलव १२ प्रतिशत) ले तमुवान मगराँत, ७२ (९ दशमलव ४५ प्रतिशत) ले गोरखा र २२ जना (२ दशमलव ८९ प्रतिशत) ले धौलागिरि राख्नुपर्ने सुझाएका थिए । ११ मध्ये ८ जिल्लाबाट गण्डकी र तीन जिल्लाबाट तमुवान मगरातको माग आएको छ ।
तत्कालिन एमाले, कांग्रेस र राजमोले गण्डकी राख्न प्राथमिकता दिएका छन् । नयाँशक्तिले गण्डकी तमुवान राख्न जोड दिएको छ । तत्कालिन माओवादी केन्द्रले भने कुनै पनि लिखित सुझाव नदिएको थापाले बताए । प्रदेशको नाम हिमाल, अन्नपूर्ण र माछापुच्छ्रेलगायत राख्नुपर्ने सुझाव पनि आएका थिए ।
नेकपाका सांसद रामजी बरालले संसदीय दलमा नामका विषयमा छलफल भइरहेको बताए । सभामुख र उपसभामुखबाहेक ३७ सांसदमध्ये ३० जनाले बोलिसकेको र ७ जनाले बोल्न बाँकी रहेको भन्दै उनले जुन नाम भए पनि सर्वसम्मत बनाउनेमा एकमत भएको जानकारी दिए । ‘छलफलमा धेरै कुरा आएका छन् । गण्डकीमा अरू केही नाम थपे जनमतको कदर हुने थियो । चित्त नबुझे भोलि संशोधन पनि गर्न सकिन्छ,’ उनले भने ।




