
गोरखामा संविधान दिवसको अवसरमा दीपप्रज्वलन र सरसफाई
संविधान दिवसको अवसरमा आईतवार गोरखा सदरमुकाममा बिभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।
नेपाल विद्यार्थी संघ गोरखाले सदरमुकामको बसपार्कमा दीपप्रज्वलन गरेको छ ।
नेपालको संविधान २०७२ जारी भएको छ वर्ष पूरा भई सातौँवर्ष सुरु भएको अवसरमा नेविसंघका नेता स्वर्गीय श्यामसुन्दर श्रेष्ठको शालिकमा दीप प्रज्वलन गरिएको नेविसंघका सहसचिव बिक्रम अधिकारीले बताए ।

नेविसंघका अध्यक्ष सुवास अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त संविधानको रक्षा र कार्यान्वयनमा जोड दिनुपर्ने बताए । नेविसंघका उपाध्यक्ष शिवहरि तिमिल्सिनाले सहभागीलाई स्वागत गरेका थिए । कार्यक्रममा नेविसंघ, तरुण दल र नेपाली कांग्रेसका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
यस्तै जिल्ला समन्वय समितिको परिसरमा पनि नेपाल नक्सा बनाएर दीपप्रज्वलन गरिएको छ । संविधान निर्माणको खुशियालीको सम्झना स्वरुप दीपप्रज्वलन गरिएको समन्वय प्रमुख अशोक गुरुङले बताए ।

दिवशको दिन बिहान गोरखा दरबार परिसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सहितको टोलीले सरसफाई कार्यक्रम गरेको थियो । कार्यालयका प्रतिनिधि र स्थानीय पनि सरसफाई कार्यक्रममा सहभागी थिए ।




