
बलात्कारीलाई आजीवन कारावास हुनुपर्छ ः मन्त्री थापा
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बलात्कारीलाई आजीवन कारावासको सजाय हुनुपर्ने बताएकी छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयममा बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री थापाले आफू मन्त्रालयमा आएपछिका तीन महिनामा बालिकादेखि वृद्धासम्म बलात्कारको सिकार बन्नुपरेको घटनाहरू सुन्दै आएको भन्दै बलात्कारीलाई आजीवन कारावासको सजाय हुनुपर्ने बताएकी हुन् ।
बलात्कारीलाई अजीवन कारावासको सजाय हुनुपर्ने माग आफूले राख्दै आएको भन्दै उनले आगामी दिनमा त्यसका नीतिगत कार्यहरू गर्ने बताइन् ।
उनले महिला हिंसा अन्त्यको लागि स्थानीय तहका जनप्रतिनिधिबाटै सचेतना अभियान सञ्चालन हुनुपर्ने बताएकी छन् । पछिल्लो समय महिला माथि बलात्कार र हिंसाको घटना बढेको भन्दै जनप्रतिनिधिले नै महिला हिंसा अन्त्यको लागि उत्तरदायी हुनुपर्ने बताइन् ।
‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक माथि हुने हिंसा अन्त्यको लागी वडा–वडा बाट नै पहल थाल्न आवश्यक छ,’ मन्त्री थापाले भनिन्, ‘स्थानीय तहका जनप्रतिनिधिहरू जीम्मेवार हुन सके हिंसाका घटनामा कमी आउन सक्छ । त्यसैले हामीले जनप्रतिनिधिहरूलाई हिंसा न्युनिकरणको लागि सचेतनाको कार्यक्रम सञ्चालन गरेका छौं ।’




