
सांसद दवाडीद्वारा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुगमन
दरौँदी समाचारदाताः गण्डकी प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडीले आफ्नो निर्वाचन क्षेत्रका बिभिन्न दुई योजनाहरुको अनुगमन गरेका छन् ।
शुक्रबार र शनिबार अजीरकोट गाउँपालिका १ र बारपाक सुलीकोट गाउँपालिका २ को सडक योजना अनुगमन गरेका हुन् ।
आफूले बिनियोजन गरेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको राङरुङबाट तालखोला धन्सिरा दुम्सिका सडक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टलाईले विनियोजन गरेका सोही कार्यक्रमको पोखरी स्नान मान्द्रे सडकको अनुगमन गरेका हुन् ।
राङरुङ तालखोला धन्सिरा सडकका लागि सो कोषबाट २५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पोखरी स्नान सडकका लागि ५० लाख रुपैयाँ बिनियोजन गरिएको छ । सो सडकका लागि गतबर्ष पनि ६० लाख रुपैयाँ खर्च गरिएको थियो । तर सो सडकको सर्भे नै गलत भएकाले लगानी बालुवामा पानी सरह भएको सांसद दवाडीले बताए ।
साथै दवाडीले केही महिनाअघि जीप दुर्घटनामा परी घाइते भएका रञ्चोकका तीनजनालाई घरमै पुगेर भेटेका छन् । उनीहरुको स्वास्थ्य लाभ भएकोमा खुशी व्यक्त गरेका नेविसंघ अजीरकोट गाउँपालिका अध्यक्ष प्रवीण गुरुङले जानकारी दिए ।




