| शनिबार, कार्तिक २८, २०८३

ग्रामीण सडक मर्मत गर्न नेकपाको आग्रह

नेपाल कम्युनिष्ट पार्टी गोरखाले जिल्लाका ग्रामीण सडक मर्मत सुधार एंव सञ्चालन गर्न आग्रह गरेको छ । पार्टी कार्यालय पाटेचौरमा भएको नेकपाको जिल्ला सचिवालय बैठकले सडक मर्मत तथा सञ्चालनका लागि सम्बन्धित कार्यालय, गाउँ तथा नगरपालिकालाई अनुरोध गरेको हो । दशैं, तिहार, छठ, इद लगायतका चाडपर्वको अबसरमा सहज रुपमा सर्वसाधारणलाई गन्तब्यमा पुग्ने वातावरण बनाउनका लागि सडक सुधार गर्न पार्टीले आग्रह गरेको हो ।
बैठकले बूढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने आरुघाट बजार र आर्खेत सहित बाँकी जग्गा तथा घर गोठ र बिरुवाहरुको मुआब्जा निर्धारण तथा वितरण तुरुन्त अगाडि बढाउन पनि सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
आयोजनालाई गति दिन नेपाल सरकार, जलस्रोत तथा उर्जा मन्त्रालय, मुआब्जा निर्धारण समिति र आयोजना इकाईलाई बैठकले आग्रह गरेको जिल्ला पार्टी कार्यालयका सचिव अकुर तिमिल्सिनाले जानकारी दिए ।
बैठकले पार्टी सदस्य नविकरण गर्ने, सेल र टोल कमिटि निर्माण गर्ने र बाँकी वडा कमिटिको सपथ ग्रहण असोज मसान्तभित्र सक्ने, वडा, गाउँ तथा नगरपालिका स्तरीय पार्टी कार्यालय स्थापना गर्ने, जिल्लास्तरमा पार्टी प्रशिक्षण गर्ने लगायतका निर्णय पनि गरेको छ ।
जिल्ला पार्टी अध्यक्ष लेखबहादुर थापा मगरको अध्यक्षतामा भएको बैठकमा जिल्ला इन्चार्ज कृष्ण धिताल र सह इन्चार्ज अमर तमुले प्रशिक्षण दिएका थिए । बैठकमा पार्टीका प्रदेश सदस्य र जिल्ला सचिवालय सदस्यहरु सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्