| शनिबार, कार्तिक २८, २०८३

हामी सत्तामा आयौं भने कर्मचारी युनियन खारेज गर्छौं : रविन्द्र मिश्र

साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले कर्मचारी युनियनले प्रशासन यन्त्रलाई कामै गर्न नदिएको भन्दै यिनलाई खारेज गर्नुपर्ने चेतावनी दिएका छन् । साझा पार्टीको गोरखा संयोजक घोषणा सभामा बोल्दै नेता मिश्रले कर्मचारी युनियन, शिक्षक युनियन, प्राध्यापक युनियनहरु सबैलाई खारेज गर्नुपर्र्ने बताए ।

‘यो देशको प्रशासन यन्त्रलाई कामै गर्न नदिने भनेको कर्मचारी युनियनले हो’, उनले भने, ‘त्यसैले यदि हामी सरकारमा आयौं भने सबै कर्मचारी युनियनलाई खारेज गर्नेछौं ।’ कर्मचारी युनियनले आफू र नेताको काम मात्र गर्ने, राष्टूको काम नगर्ने गरेको उनको आरोप छ । ‘सर्वसाधारण नेपालीले तिरेको राजस्वबाट तलब खाएका एकजना नासु, एकजना खरदारले कर्मचारी युनियनको बलमा सचिवको टेबुल ठटाएर, सचिवलाई कालोमोसो लगाएर अनैतिक काम गर्न दबाब दिइरहेका हुन्छन् । यसरी कसरी प्रशासन संयन्त्र चल्छ ?’, उनले भने, ‘त्यसैले यदि हामी सरकारमा आयौं भने, हामी राजनीतिक दलका शुभेच्छुक संगठन, भातृसंगठनका रुपमा रहेका सबै कर्मचारी युनियन, सबै शिक्षक युनियन, प्राध्यापक युनियन खारेज गर्छौं । बल्ल सुशासन सुरु हुन्छ ।’

कर्मचारीतन्त्रभित्र आफ्नो मान्छे भए मात्र काम हुने गरेको, नेता, बिचौलिया र बोलवाला भएकाहरुको काम हुने गरेको तर सर्वसाधारणको काम गर्न अत्यन्तै कठिन हुने गरेको उनले तर्क गरे ।

सोही सभामा बोल्दै नेता मिश्रले २०४६ सालदेखि यताका नेपालका सबै नेता, उच्च पदस्थ कर्मचारीहरुको सम्पत्ति छानबीन गर्नुपर्नेमा जोड दिए । ‘नेपाल पछाडि पर्नुको कारण के हो भने नेपालमा सीमित नेता, बिचौलिया, उच्चपदस्थ कर्मचारीको स्तर निरन्तर उकासिइ रहेको छ’, उनले भने, ‘नेपाललाई साँच्चिकै बदल्ने हो भने भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । हामी यदि सरकारमा आयौं भने २०४६ साल यता राजनीतिक, प्रशासनिक र अन्य उच्च नेतृत्वमा रहेका सबैको हामी सम्पत्ति छानबीन गर्छौं ।’

नेपाली राजनीति सुध्रिने बाटोमा नरहेको नेता मिश्रको तर्क छ । ‘बिगत ३० बर्ष, ४० बर्ष तपाईँले जसरी बिताउनु भयो, यदि यही पार्टीले देश चलाइरहे भने अझै पनि देश सुध्रिनेवाला छैन । मृत्यूशैयामा पुगेपनि मुलुक बदलिनेवाला छैन’, उनले भने ‘यो देशको राजनीति तबमात्र सुध्रिन्छ, जब नेपाली नेता मात्र होइन, नेपाली नागरिक पनि बदलिन्छन् । खराबहरु नेताहरु सिँहदरबारमा बसेर शासन चलाउने, असल नागरिकहरु छेउमा बसेर हेरिदिने परम्परा रहुञ्जेल यो देश बदलिँदैन ।’ नागरिकहरु अहिले देश चलाइरहेका राजनीतिक पार्टीको मायाजालमा फँसेकाले देश नबनेको उनको भनाइ छ । शुक्रबार आयोजित समारोहका बीच साझा पार्टी गोरखाको संयोजकमा किशोर रेग्मी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्