| शनिबार, कार्तिक २८, २०८३

नेपाली काङ्ग्रेसले असोज सात गते सदरमुकाममा विरोध सभा गर्ने

देशभरि राष्टिूय जागरण अभियान सञ्चालन गरिरहेको नेपाली काङ्ग्रेसले असोज सात गते गोरखा सदरमुकाममा विरोध सभा गर्ने भएको छ । सरकारको कार्यशैलीको बिरोध तथा काङ्ग्रेसको भावी रणनीति, कार्यनीतिबारे जानकारी गराउने उद्देश्यका साथ सञ्चालित दोस्रो चरणको जागरण अभियान समापनको अवसर पारी काङ्ग्रेसले हरमटारीचोकमा बिरोध सभा गर्न लागेको नेपाली काङ्ग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानले जानकारी दिए ।

‘वर्तमान सरकारको अधिनायकवाद विरुद्ध खबरदारी गर्ने उद्देश्यले हामीले आउँदो सात गते बिरोध सभा गर्न लागेका हौं’, उनले भने, ‘अहिलेको सरकारले दुई तिहाइको दम्भ देखाउँदै भ्रष्टाचार, मानव अधिकार, नागरिक अधिकार, मौलिक हक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन गरिरहेको छ । प्रजातन्त्रको पहरेदार पार्टीको हैसियतले नेपाली काङ्ग्रेसले यसका विरुद्ध आवाज उठाउनु पर्छ भन्ने उद्देश्यले बिरोध सभा गर्न लागिएको हो ।’

सरकारले एकपछि अर्को गल्ती गर्दै गएको, न्यायपालिकामाथि हस्ताक्षेप गरेको, हत्या, हिंसा, बलात्कार जस्ता घटना न्यूनिकरण गर्नुको साँटो दण्डहिनताका कारण बढ्दै गएको आरोप उनले लगाए ।काङ्ग्रेसले यसअघि गण्डकी गाउँपालिकाको घ्याल्चोक र फुजेलमा, आरुघाट गाउँपालिकाको आरुघाट र आर्खेतमा, बारपाक सुलीकोट गाउँपालिकाको सौरपानी र ताकुकोटमा, अजीरकोटको सिम्जुङ र हंशपुरमा, सिरानचोक गाउँपालिकाको छोप्राक र थालाजुङमा, पालुङ्टार नगरपालिकाको ठाँटीपोखरी, खोप्लाङ, बिरुवाटार र कमलटारमा दोस्रो चरणको जागरण अभियान सञ्चालन गरिसकेको न्यौपानेले बताए । साथै गोरखा नगरपालिकाको अधिकांश वडामा जागरण अभियान सञ्चालन भइसकेको र असोज सात गतेभित्र सबै वडामा अभियान सञ्चालन गर्ने उनले बताए ।

बिरोधसभामा गोरखा घर भएका काङ्ग्रेसका केन्द्रीय समिति सदस्यहरु कमला पन्त, सुरेन्द्र पाण्डे, चीनकाजी श्रेष्ठ, जिल्ला पार्टी सभापति हरिबहादुर घलेले सम्बोधन गर्ने कार्यतालिका रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्