
क्यान्सरपिडित नेता अधिकारीलाई सहयोग
क्यान्सरबाट पिडित गोरखाका पुराना कम्युनिष्ट नेता श्रीनाथ अधिकारीलाई युवाहरुको एक टोलिले आर्थिक सहयोग गरेको छ ।
क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य समेत रहेका नेता अधिकारीलाई गोरखा घर भई काठमाडौँमा बस्दै आएकाहरुसँग संकलन गरेर जुटेको ८९ हजार एक सय ३० रुपैयाँ हस्तान्तरण गरेको नेकपाका नेता लेखनाथ न्यौपानेले जानकारी दिए ।
नेपाल क्यान्सर अस्पताल ललितपुरमा उनको उपचार भैरहेको छ । अधिकारीको उपचारमा नेपाल क्यान्सर अस्पतालका प्रमुख सुदिप श्रेष्ठ, विदेशी डक्टर जिसु लगायतको विशेषज्ञ टिम खटिएको छ । चिकित्सकका अनुसार उनलाई लेफ्ट लङ कार्सिनोमा थ्रि बि नामक क्यान्सर रोग लागेको छ । उनको उपचारमा केमोथेरापी, रेडियोलोजि लगायतका विधिहरु प्रयोग गरिएको बताइएको छ ।
थप विधि प्रयोग गर्दा क्यान्सर हटाउन सकिने र त्यसका लागि अन्य उपचार विधिहरुको प्रयोग गर्नुपर्ने सल्लाह अस्पतालले दिएको उनका छोरा नारायण अधिकारीले जानकारी दिए । उपचारका क्रममा हालसम्म सात लाख भन्दा बढी रकम खर्च भएको उनले बताए ।




