| आइतवार, कार्तिक २९, २०८३

पालुङटार वडा नं २ को सिमाना हेरफेर गर्न स्थानीयको माग

अनुपमा खनाल

गोरखाको पालुङटार नगरपालीका वडा नम्वर २ को सिमाना हेरफेरको माग गर्दै स्थानीय बासिन्दाले हस्ताक्षर संकलन थालेका छन् । साविकको खोप्लाङ गाविसका केही र आँपपिपलका केही वडा मिलाएर २ नम्वर वडा बनाइएको थियो । तर भौगोलिक कठिनाईका कारण सेवा प्रवाहमा असहजता भएपछि स्थानीय बासिन्दाले सीमा हेरफेर गर्न आग्रह गर्दै आएका छन् । साविकको खोप्लाङ गाविसको १, २ र ३ नम्वर वडा तथा पायक पर्ने आसपासका वस्ती मिसाएर छुट्टै वडा बनाइनुपर्ने स्थानीयको माग छ । त्यो सम्भव नभएमा वडाको केन्द्र पायक पर्ने ठाउँमा राख्नुपर्ने माग सहित स्थानीय बासिन्दाले हसताक्षर संकलन थालेका हुन् । उनीहरुले महेन्द्रप्रसाद तिमिल्सिनाको संयोजकत्वमा संघर्ष समितिनै बनाएर वडाको केन्द्र परिवर्तनका लागि दवाव दिन थालेका हुन् । आउँदो असार १ गतेसम्ममा हस्ताक्षर संकलन गरि वडा कार्यालय, नगरपालीका र आवश्यकता अनुसार अन्य सरकारी निकायहरुमा पनि बुझाइने संघर्ष समिति संयोजक तिमिल्सिनाले जानकारी दिए ।

वडा कार्यालय अपायक भएपछि घुम्ती कार्यालय खडा गरि दुई ठाऊँबाट सेवा दिनु परेको वडाध्यक्ष लोकनाथ वाग्लेले बताए । भौगोलिक रुपमा कार्यालय टाढा भएकै कारण धेरैजसो सेवाग्राहीलाई अत्यावश्यक सेवा लिन पनि कठिनाई भएको गुनासोपछि घुम्ती वडा कार्यालय मार्फत सेवा दिन थालिएको उनको भनाई छ । हप्ताको दुईदिन घुम्ती वडा कार्यालय र अरु ४ दिन नियमित कार्यालयबाट सेवा दिने गरिएको वाग्लेले बताए ।

आइतबारदेखि वुधबारसम्म आँपपिपल भञ्ज्याङमा रहेको कार्यालय तथा विहिबार र शुक्रबार चापाभञ्ज्याङमा घुम्ती कार्यालय खडा गरि सेवा प्रवाह भैरहेको उनको भनाई छ । वडा विभाजन गर्दा भौगोलिक हिसावले सिमाङ्कन गर्नुपर्नेमा त्यसो नहुदा सेवाग्राहीलाई सास्ती भएको वाग्लेले जानकारी दिए । वडा कार्यालय पुग्न पाउरोटी भण्डार, बर्सरे, सुन्तले, कटहरे लगायत ठाउँका बासिन्दालाई कम्तिमा ४ घण्टा हिँड्नु पर्ने वाध्यता छ ।

पहिलेको गाविस कार्यालय नजिक भएपनि अहिले वडा कार्यालय झन् टाढा भएको स्थानीयले गुनासो गरेका छन् । साविक खोप्लाङ गाविसको १, २, ३ र साविक आपपीपपल गाविसको ४ देखि ९ सम्मका वडा मिलाएर पालुङटार नगरपालीकाको हालको वडा नम्वर २ बनाइएको हो । त्यतिबेलै पनि भुगोल नमिलेको गुनासो आएको भन्दै वडाध्यक्ष वाग्लेले त्यसलाई सच्याउन पहल थालिएको बताए

प्रतिक्रिया दिनुहोस्