
जीर्ण विजुलीको पोलले सिरानचोकमा जोखिम बढायो
बिजुलीको फलामे पोलमा तार टाँग्न ढिलाई हुँदा जोखिममा बस्न बाध्य भएको सिरानचोक गाउँपालिका वडा न ४ को गैरागाउँका बासिन्दाले गुनासो गरेका छन् । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्र मार्पmत गत माघमा नै काठेपोल विस्थापनका लागि फलामे पोल गाडेपनि अहिलेसम्म तार नटाँग्दा जोखिम रहेको स्थानीय रामचन्द्र सिर्मलले जानकारी दिए । ‘दुई साता अघिको हावाहुरीले काठको पोल भाँचिएर करेन्ट भएको तार लत्रेको छ’ उनले भने ‘बन्दै गरेको घरमा लत्रिएको तारले छोएको छ । तारले रुखमा पनि छोएको छ । गाउँलेले जसोतसो सुकेको बाँसमा तार टाँगेर काम चलाएका छन् । तर फलामे पोल गाडेको चार महिनासम्म पनि प्राधिकरणले तार नसार्दा हामीलाई डर भयो ।’

करेन्ट प्रबाह भएको तार ब्यबस्थापन नहुँदा गैरागाउँका करीब ३० घरका बासिन्दा दुर्घटनाको जोखिममा रहेको उनले बताए । ‘हामीलाई काम गर्नै अफ्ठेरो छ’ उनले भने ‘घाँस काट्न जान डर छ । बाटो हिड्ँदा पनि तार छोइन्छ कि भनेर कोल्टे परेर हिडनुपर्छ, पानी लिन पनि निहुरिएर जानुपर्छ । गोठालो जाँदा बस्तु पनि करेन्ट लागेर मर्छ कि भन्ने डर छ ।’ सिरानचोक वडा नं ४ र ५ मा चार सय काठेपोल विस्थापन गर्न प्राधिकरणले फलामे पोल उपलब्ध गराएको वडा सचिव जनार्दन पोख्रेलले बताए । ‘पोल गाड्ने, तार टाँगने काम भैरहेको छ । तर ढिलाई भयो’ उनले भने ‘प्राधिकरणका कर्मचारीले सबै पोल गाडेपछि एकैपटक तार जोड्ने भन्नुभएको छ । अहिले हावाहुरीले धेरै काठेपोल भाँचेका छन् । बाँसको टेका लगाएर तारलाई आड दिएका छन् गाउँलेले । जोखिम छ ।’फलामे पोलमा तार टाँगने काम चरणबद्ध रुपमा भैरहेको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताए । ‘सिरानचोक ४ र ५ मा फलामे पोलमा तार सिफ्ट गर्न अहिले दुईवटा टोलि काम गरिरहेको छ’ उनले भने ‘एउटा टोलि चित्रेपोखरी बाट काम गर्दै तल झर्दै छ भने अर्को टोलि चोरकाटे आसपास काम गर्दै छ । एकसाता भित्र तार टाँग्ने काम सकिन्छ ।’




