| आइतवार, कार्तिक २९, २०८३

मेयरको भत्ताले गरीबको स्वास्थ्य बिमा

 

पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले आफूले मेयर भएवापत प्राप्त गरेको भत्ताले बिपन्न नागरिकको स्वास्थ्य विमा गर्न सुरु गरेका छन् ।

मेयर भए वापत विभिन्न भ्रमण, गोष्ठी तथा तालिमका क्रममा प्राप्त गरेको भत्ताले नगरपालिका भित्रका बिपन्न नागरिकको स्वास्थ्य बिमा गर्ने घोषणा अनुसार आइतबार पालुङटार नगरपालिका वडा न ४ निवासी कृष्णबहादुर घर्तीको परिवारको स्वास्थ्य बिमा गरिएको हो । अबदेखि औषधि किन्न तथा उपचारमा सहयोग पुगेको भन्दै घर्तीले खुसी ब्यक्त गरे ।

सबै नगरबासीलाई स्वास्थ्यको पहुँचमा ल्याउनका लागि विपन्नको स्वास्थ्य विमा गर्न सुरु गरेको मेयर कडेंलले जानकारी दिए । ‘सरकारले गरीबलाई निशुल्क स्वास्थ्यविमा भनेपनि कार्यान्वयनमा समस्या छ । त्यसैले पनि भत्ताको रकमले गरिबको बिमा गरिदिएको हुँ ।’

भत्ताको रकमले सम्बन्धित वडा कार्यालयको सिफारिसमा प्रत्येक वडाका ५ परिवारको स्वास्थ्य विमा गर्ने उनले बताए । स्वास्थ्य बिमाको परिमार्जित नियम अनुसार तिन हजार पाचँ सय रुपैयाँले पाच जनासम्मको परिवारको स्वास्थ्य बिमा हुनेछ । उनिहरुले हाल ५० हजार र साउनदेखि एक लाख सम्मको सेवा प्राप्त गर्नु हुनेछ। पाँच जना भन्दा माथिको परिवारले भने विमाका लागि प्रती ब्यक्ति थप सात सय रुपैयाँ थप्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्