
गोरखाका ६२ किसानलाई व्यवसाय प्रवद्र्धन अनुदान
गण्डकी प्रदेशको भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयबाट गोरखाका ६२ किसानले ब्यबसाय प्रबद्र्धनका लागि अनुदान पाउने भएका छन् । मन्त्रालयले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखा मार्फत फ्रेसहाउस सुधारका लागि ५० प्रतिशत, पशुपालक कृषकलाई यन्त्रिकरणका लागि ७० प्रतिशत र साना मोडल फार्महरुमा ५० प्रतिशत अनुदानको लागि किसान छनौट गरेको हो । अनुदानका लागि जिल्लाका १३ मोडल फार्म, यन्त्रिकरणका लागि २७ पशुपालक कृषक र फ्रेसहाउस सुधारका लागि २२ कृषक छनौट भएका मंगलबार कार्यालयमा आयोजित कार्यक्रममा विज्ञ केन्द्रका प्रमुख डाक्टर ब्रजकिशोर ठाकुरले बताए । ‘वडा कार्यालयमा किसानमा सुचिकृत भएकाहरुसँग आबेदन माग गरेर स्थलगत अध्ययन गरी अनुदानका लागि छनौट गरेका हौं’ उनले भने ‘किसानले पेश गरेको योजना अनुसार कामका आधारमा अनुदान रकम निकासा गर्छौ ।’
किसानले उत्पादन गरेका कृषि उत्पादनको मुल्य र बजारको ब्यबस्था गर्न किसान कृष्ण राना मगरले बताए ।
अनुदानले प्रोत्साहीत भएका किसानले उत्पादन गरेका कृषि उपज खेर जाने अबस्था आउन नदिन उनको माग छ । किसान र उपभोक्ता बिचको विचौलियाको अन्त्य गर्न किसान सावित्री अर्याल घिमिरेले ध्यानाकर्षण गराईन् । ‘९५ रुपैयाँको चल्ला हुर्काएर बेच्दा जम्मा १३५ रुपैयाँ पाउँछौ’ उनले भनिन् ‘हामी जुवाडेको श्रीमती जस्तै भयौं, छिनमै हास्नुपर्ने छिनमै रुनुपर्ने । दुख ग¥यो हातमा केही छैन । ’
कार्यक्रममा गण्डकी प्रदेशका भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले प्राप्त अनुदानको सदुपयोग गरी उत्पादन वृद्धि गर्न किसानलाई आग्रह गरे । गण्डकी प्रदेशले तिन बर्षमा उत्पादनमा आत्मनिर्भर हुने र ५ बर्षमा दोब्बर उत्पादन गर्ने लक्ष्य लिएको उनको भनाई छ । हाल अण्डा, कुखुराको मासु, दुधमा गण्डकी प्रदेश आत्मनिर्भर रहेको उनको दाबी छ ।




