
२०७६ सालमा १५ दिन सार्वजनिक विदा
सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक विदा दिएको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभरी विदा हुने गरी जम्मा १५ दिनमात्र सार्वजनिक विदा दिएको हो । वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभर सार्वजनिक विदा दिइएको छ ।जेठ महिनामा एक दिनमात्र ४ गते शनिबार सार्वजनिक विदा दिइएको छ ।
असार, साउन र भदौ महिनामा एक दिन पनि देशभर लागू हुने गरी सार्वजनिक विदा दिइएको छैन । असोज ३ गते शुक्रबार संविधन दिवसको दिन सार्वजनिक विदा दिइएको छ । असोजमै १८ गते शनिबारदेखि २२ बुधबारसम्म अर्थात फूलपातीदेखि एकादशीसम्म ५ दिन सार्वजनिक विदा दिइएको छ । कात्तिक महिनामा तिहारका तीन दिन विदा परेको छ ।
कात्तिक १० गते आइतबारदेखि १२ गते मंगलबारसम्म अर्थात लक्ष्मी पूजादेखि भाइटीकासम्म ३ दिन विदा दिइएको छ ।
मंसिर, पुस र माघ महिनामा देशभर लागू हुने गरी विदा दिइएको छैन । फागुन महिनामा ९ गते शुक्रबार महाशिवरात्रीमा र फागुन २५ गते आइतबार अन्तर्रा्ष्ट्रिय महिला दिवसमा सार्वजनिक विदा दिइएको छ । त्यस्तै फागू पूर्णिमाका दिन फागुन २६ गते सोमबार पहाड र भित्री मधेसका ५८ जिल्लामा र बाँकी जिल्लामा फागुन २७ गते मंगलबार सार्वजनिक विदा दिइएको छ ।
चैत महिनामा भने सार्वजनिक विदा परेको छैन । महिला कर्मचारीहरुलाई भदौ १६ गते सोमबार तीजका दिन सार्वजनिक विदा दिइएको छ । जितिया पर्व मनाउने मधेसका महिला कर्मचारीले भने असोज ५ गते आइतबार पनि विदा पाउनेछन् । त्यस्तै अपांगता भएका कर्मचारीलाई मंसिर १७ गते मंगलबार अन्तर्रा्ष्ट्रिय अपांगता दिवसमा विदा दिइएको छ ।
शिक्षण संस्थाहरुमा माघ १६ गते विहीबार श्रीपञ्चमीको दिन पनि विदा दिइएको छ । सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषका लागि पनि सार्वजनिक विदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरुले इद (इदुल्ल फित्र) र इदुल (इदुल जोहा) का दिन विदा पाउनेछन् । इसाइ धर्मावलम्बीलाई क्रिसमस डेमा पुस ९ गते बुधबार विदा हुनेछ ।
गुरुङ समुदायले तमु ल्होसारमा पुस १५ गते मंगलबार विदा पाउनेछन् । माघे संक्रान्तिमा माघ १ गते बुधबार थारु, मगर, छन्त्याल जातिलाई विदा दिइएको छ । तामाङ समुदायले माघ ११ गते शनिबार सोनम ल्होसारमा विदा पाउनेछन् ।
साभार ः अनलाइनखबर ।




