
सहिदस्मृति पार्क र बारपाक सुलिकोट गाउ“पालिका कार्यालय सिलान्यास गण्डकी ७ को कार्यालय र सूर्यज्योति माविको भवन उद्घाटन
माओवादी जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको गाउँमा सहिद स्मृति पार्क बन्ने भएको छ । बारपाक सुलिकोट ८ जराङमा निर्माण गरिने पार्कको एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सिलान्यास गरे ।
रम्तेलको घर भएको ठाउँमा जनयुद्धका सहिदहरुको स्मृतीमा सभाहल सहितको पार्क बन्ने भएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए । गाउँपालिका तथा अन्य सरकारी निकायको बजेटमा बन्न लागेको पार्कको डिजाईन इस्टिमेट तयार भैसकेको अध्यक्ष भट्टले जानकारी दिए ।
माओवादी नेता पक्राउ गर्न गएको प्रहरी र स्थानीयबासी बीच तनाव हुँदा प्रहरीको गोली लागि व्रह्मचारिणी निमाविमा कक्षा ४ मा अध्ययन रत रम्तेलको २०५२ साल फागुन १४ गते निधन भएको थियो। दिलबहादुर स्मृति दिबसका अबसरमा अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त रुपमा स्टेशनरी वितरण गरेका छन् । रम्तेलले पढेको बिद्यालय जराङको ब्रह्मचारिणि निम्न माध्यामिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी वितरण गरिएको विजय गौतमले जानकारी दिए ।
गोरखाको गण्डकी गाउँपालिका वडा नं ७ को वडा कार्यालय निर्माण भएको छ । ६२ लाख ५० हजार रुपैयाँको लागतमा नौ कोठे भवन निर्माण भएको हो । नवनिर्मित वडा कार्यालयको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गरे ।
वडा कार्यालय उद्घाटन गर्दै उनले सो क्षेत्रको विकास निर्माणमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । ‘तपाईहरुका अपेक्षा पूरा गर्नेछु’ उनले भने ‘सिउरेनीटारबाट गण्डकी गाउँपालिका वडा नं ८, ७ ६ १ र २ हुँदै शहिद लखन जोड्ने बाटो, सिउरेनीटारबाट बुटार, मनकामनाको पुछारबाट अवुवा हुँदै पोरखा जाने बैकल्पिक हाईवे निर्माणका लागि बजेट हाल्न प्रधानमन्त्रीसँग सल्लाह गर्छु ।’ उनले धवादीघाट र ज्यामीरेघाटमा मोटरेवल पुल निर्माणका लागि पनि बजेट विनियोजन गर्ने बताए । आगामी आर्थिक बर्षको बजेटमा ती योजनाका लागिबजेट विनियोजन गर्ने उनले आश्वासन दिएका छन् ।
गाउँपालिकामा नै पहिलोपटक वडा नं ७ ले वडा कार्यालय बनाएको हो । सो कार्यालय निर्माणमा स्थानीयले १० लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन् । कार्यालय भवन बनेसँगै अब मासीक सात हजार रुपैयाँ भाडा तिर्नुपर्ने बाध्यता हटेको वडा अध्यक्ष तुलसी रेग्मीले बताए ।
कार्यक्रममा नेकपाका वरीष्ठ नेता नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा, प्रतिनिधि सभाका सांसद हरी अधिकारी, गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर राना, वडा नं ८ का अध्यक्ष रामप्रसाद रेग्मी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । सोही कार्यक्रममा नेकपा गण्डकी गाउँपालिकाले शहिद तथा वेपत्ता परीवारलाई सम्मान गरेको छ । जनयुद्धका १७ सहिद र एक बेपत्ताका परिवारलाई सम्मान गरिएको नेकपाका गण्डकी प्रदेश सदस्य दिपक तिमिल्सीनाले जानकारी दिए ।
मंगलबार नै ताकुकोटको सूर्यज्योती माध्यमिक विद्यालयको नवनिर्मित भवनको पनि नेकपा अध्यक्ष प्रचण्डले उद्घाटन गरे । सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र स्वाँरा सघन गाऊँ विकास केन्द्रको समन्वयमा कुल २० कोठाको ३ वटा भवन बनेको हो । सेभ द चिल्ड्रेनले भवन निर्माणका लागि ३ करोड ६५ लाख रुपैया सहयोग गरेको प्रधानाध्यापक भिमकुमार श्रेष्ठले बताए ।
कार्यक्रममा बोल्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले एक दुई हप्ताभित्रै पार्टीको साँगठनिक एकताको टुंगो लाग्ने बताए । सरकारको कामले गति लिन नसकेको र पार्टी एकता टुंगोमा नपुगेको भन्ने नागरिकका गुनासा को छिट्टै सम्बोधन हुने उहाँको दावी छ ।
गाऊँपालिका अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री हितराज पाण्डे, पूर्व निर्वाचन आयुक्त एवम् समृद्ध वारपाक सुलिकोट सल्लाह कार समितिका संयोजक दोलख बहादुर गुरुङ, प्रधानाध्यापक भिमकुमार श्रेष्ठ, सेभ द चिल्ड्रेनका पूर्वाधार विकास ब्यवस्थापक यादव मैनाली लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




