
प्रजातन्त्र र निर्वाचन दिवसका अवसरमा गोरखामा प्रभातफेरी
६९ औं प्रजातन्त्र दिवसका अबसरमा गोरखा सदरमुकाममा प्रभातफेरी गरिएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस मुल समारोह समितिको आयोजनामा मंगलबार ठुलो आगँनदेखि जिल्ला समन्वय समितिको कार्यालयसम्म प्रभातफेरी गरिएको हो । बाजागाजा तथा विभिन्न झाँकीसहित भएको प्रभातफेरीमा जिल्लाका जनप्रतिनिधी, सरकारी तथा गैह्र सरकारी कार्यालय, राजनितिक दल, विभिन्न संघसस्ंथाका प्रमुख तथा प्रतिनिधीको सहभागिता रहेको थियो । प्रभातफेरीको समापन गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस मुल समारोह समितिका जिल्ला संयोजक अशोक गुरुङले प्रजातन्त्र ल्याउन सक्रिय सबैलाई स्मरण गर्दै शहिदका सपना पुरा गर्न सबै मिलेर देश संवृद्ध बनाउन लाग्नुपर्ने बताए । एक सय ४ बर्षे जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ०७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।
प्रजातन्त्र दिवससँगै मंगलबार गोरखामा तेस्रो निर्वाचन दिवस पनि मनाईएको छ । ‘आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ’ भन्ने नाराका साथ प्रभातफेरी गरेर दिवस मनाइएको हो । २०१५ साल फागुन ७ गते आमनिर्वाचनका लागि पहिलो पटक मतदान भएको दिनलाई आधार मानेर निर्वाचन आयोगले निर्वाचन दिवस मनाउँदै आएको छ ।




