
लैंगिक हिंसा तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न
गोरखा सदरमुकाममा लैङ्गिक हिंसा तथा मानव बेचविखन नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा सोमबार गोरखाका स्थानीय तहका जनप्रतिनिधि, न्यायिक समितिका संयोजक एंवम् पदाधिकारीसँग अन्तरक्रिया भएको हो । कार्यक्रम मा मन्त्रालयको सामाजिक विकास महाशाखाकी उप सचिव तुलसा अर्यालले लैङ्गिक हिंसा न्युनिकरणका लागि स्थानीय तहले पालिका तथा वडास्तरमा हिंसा पिडितका लागि कोष स्थापना गर्नुपर्ने, विज्ञ समुहद्धारा कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने र हिंसामा परेकालाई एकै ठाउँबाट आबश्यक सबै सेवा उपलब्ध गराउने वातावरण बनाउनु पर्नेमा जोड दिईन् ।
मानव बेचविखनको अबस्था र नियन्त्रणका लागि स्थानीय तहको भुमिकाका विषयमा पनि उनले सहजिकरण गरेकी थिइन् । यस्तै, अधिबक्ता स्थानेश्वर दुवाडीले न्यायिक समितिको काम, कर्तब्य र अधिकारका बिषयमा सहजि करण गरे । कानुनले दिएको अधिकार भित्र रहेर निष्पक्ष रुपमा कार्यसम्पादन गर्न उनले न्यायिक समितिका पदाधिकारीलाई आग्रह गरे । कार्यक्रममा जिल्लाको सबै स्थानिय तहका न्यायिक समितिका पदाधिकारीको सहभागिता रहेको थियो । मन्त्रालयको सामाजिक विकास महाशाखाकी उपसचिव तुलसा अर्यालको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रम मा जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ, उप प्रमुख जनुका अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




