
प्रदेशको मापदण्ड मिचेर ढुंगा, गिटी बालुवा झिक्न नदिनू : मुख्यमन्त्री
अनुपमा खनाल
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अबैधानिक रुपमा भएका नदीजन्य पदार्थ उत्खनन तथा विक्री नियन्त्रण गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । प्रेस संगठन गोरखाले विहिबार गोरखा सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ढुंगा, गिटी, बालुवासम्बन्धी अबैधानिक गतिविधि नियन्त्रण गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरे । आउँदो असारसम्म कानुन अनुसार कागजात पूरा नगर्ने क्रसर बन्द गर्ने चेतावनी दिए । ‘प्रदेश सरकारले म्याद दिएको थियो’, उनले भने, ‘कोही पनि आएनन्, हामीले फेरि असारमसान्तसम्म म्याद दिएका छौं । यो अबधिमा विधि र प्रक्रियामा नचल्ने क्रसरलाई प्रदेश सरकारले बल प्रयोग गरी बन्द गर्छ ।’ प्राकृतिक स्रोत सबैको साझा सम्पति भएपनि निश्चित ब्यक्तिले मात्र फाईदा लिएकाले यसमा कडाई गर्न लागिएको उनको भनाई छ ।
राजस्वको लोभले प्रदेशले तयार गरेको मापदण्ड मिचेर आफूखुशी ठेक्का दिने सो अवैध हुने मुख्यमन्त्री को तर्क छ । ‘स्थानीय तहका प्रमुख वा वडा अध्यक्षले आफुखुसी नदीबाट ढुंगा, गिटी बालुवा झिक्ने अनुमति दिएको भए त्यो अबैधानिक हुन्छ’, उनले भने ‘प्रदेश सरकारले बनाएको मापदण्ड अनुसार विधि र प्रक्रिया पूरा गरी गाउँपालिका वा नगरपालिकाले निर्णय गरेर अनुमति दिनुपर्छ । ब्यक्तिले अनुमति दिने होईन् ।’




