| आइतवार, कार्तिक २९, २०८३

दशैं मेलामा लक्ष्यभन्दा बढिको कारोबार ः आयोजक

कात्तिक १, गोरखा ।
गोरखा सदरमुकाममा भएको पहिलो दशैं सस्तो बजार एवं सडक मेलामा साढे सात करोड रुपैया भन्दा बढिको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ । गोरखा चेम्बर अफ कमर्सको आयोजनामा हरमटारीको खेलकुद मैदानमा असोज २० गतेदेखी ३० गतेसम्म भएको मेलामा लक्ष्य भन्दा बढिको कारोबार भएको आयोजकले दाबी गरेको हो । ६ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएकोमा साढे सात करोडभन्दा बढिको कारोबार भएको गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाई चन्द्र श्रेष्ठले जानकारी दिए ।
मेला अबलोकन गर्नेको सख्यांपनि अपेक्षाभन्दा बढि पाईएको उनको भनाई छ । ४० देखी ६० हजार दर्शकले मेला अबलोकन गर्ने लक्ष्य राखिएपनि ६५ हजारभन्दा बढिले मेलाको अबलोकन गरेका आयोजकको दाबी छ । मेलामा नै ३३ लाख रुपैया बराबरको खसी, बोका र च्याङग्राको विक्री गरिएको थियो । आयोजकका अनुसार ५५ च्याङग्रा र ६५ खसी बोका मेलाबाट बिक्रि गरिएको हो ।
स्थानिय उत्पादन र ब्यबसायको प्रबद्र्धन गर्ने उदेश्यले भएको मेलामा हिमाली क्षेत्रका च्याङग्रा, सिलाम, आलु , जडिबुटी लगायतका उत्पादन प्रदर्शनी तथा बिक्री गरिएको थियो । यस्तै, स्थानिय स्तरमा आरनबाट बनाएको हतियार, ढाकाको कपडा, हस्तकलाका सामाग्री, नेपाली जुत्ताचप्पल, अल्लोका कपडा, भान्साका सामाग्री, बुटिकका कपडाहरु पनि स्टलमा राखीएको थियो ।
मेला सकिएपनि मेलास्थलमा शुरु गरिएको नवदुर्गा पुजाको विधिवत रुपमा समापन गर्न बाँकी नै छ । घटस्थापनाको दिन विधिवत रुपमा शुरु गरिएको दुर्गा पुजाको समापन पनि धार्मिक मान्यता अनुसार नै गरिने गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्