
नौ जनाको सदस्यता नविकरण नगर्ने पत्रकार महासंघको निर्णय
नेपाल पत्रकार महासंघ गोरखा शाखामा रहेका २९ साधारण सदस्य मध्ये नौ जनाको सदस्यता नविकरण नहुने भएको छ । पत्रकार महासंघ गोरखा शाखाको सोमबार बसेको पदाधिकारीको वैठकले नौ जनाको सदस्यता नविकरण नगर्ने निर्णय गरेको हो ।
पत्रकारिता भन्दा अन्य क्षेत्रमा क्रियाशिल रही विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कारण उनीहरुको सदस्यता नविकरण नगरिएको पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटाले बताए ।
साथै शाखाको सोमबार बसेको पदाधिकारी बैठकको निर्णय अनुसार ४ जनालाई नयाँ सदस्यता प्रदान गर्ने निर्णय समेत गरेको अध्यक्ष नरहरि सापाकोटाले जानकारी दिए । ‘हामीले विगत देखि नै जिल्ला शाखालाई नमूना बनाउने प्रयास गर्दै आएका छौं,’ उनले भने,‘सोही अनुरुप पत्रकारिता बाहेकका अन्य पेशामा आवद्ध रही अन्य भूमिका निर्वाह गर्दै आउनु भएकाहरुको सदस्यता नविकरण नगर्ने निर्णय गरेका छौं ।’ त्यस अघि बसेको कार्य समिति बैठकले दिएको जिम्मेवारी अनुरुप पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । बैठकले गरेको निर्णयका बारेमा महासंघले प्रेस विज्ञप्ती मार्फत जानकारी समेत गराएका छ ।
पत्रकार महासंघको विद्यान, सदस्यता शुद्धिकरण अभियान, जिल्लाले विगत देखि अवलम्वन गर्दै आएको शुद्धीकरणको अभ्यास, पूर्व अध्यक्षहरु, प्रदेश तथा केन्द्रीय कार्यसमितिको परामर्श एवं छलफल र जिल्ला कार्यसमितिको निरन्तर बैठकको निर्णयलाई आत्मसाथ गरि उक्त निर्णय गरिएको सचिव बिकास मरहट्टाद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।
सदस्यता नविकरण नभएका मध्ये स्थापना काल देखि अहिले सम्म जिल्लाको पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने पाँच जनालाई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय समेत गरिएको विज्ञप्तीमा उल्लेख छ ।
यसै वीच उक्त निर्णयमा असहमती जनाउँदै प्रेस सेन्टर नेपाल गोरखाले महासंघको कार्यालयमा तालाबन्दी गर्नुका साथै प्रेस विज्ञप्ती मार्फत विरोध जनाएको छ । यसैगरी प्रेस चौतारी नेपाल गोरखाले पनि महासंघको उक्त निर्णय सच्याउन माग गरेको छ ।




