| बुधबार, कार्तिक २५, २०८३

बाबुरामको गृहनगरमै कांग्रेस–जसपा गठबन्धन टुट्यो, एक्लै लड्ने कांग्रेसको घोषणा

जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईको गृहनगर पालुङटारमा जसपा र कांग्रेस बिचको चुनावी गठबन्धन टुटेको छ । केन्द्रिय समितिको निर्देशन जसपाले पालना नगरेकाले कांग्रेस गोरखाले एक्लै चुनावमा जाने निर्णय गरेको जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बताए ।

‘पालुङटारको मेयरमा जसपा, उप मेयरमा कांग्रेसलाई सघाउन केन्द्रले निर्देशन गरेको हो’ कांग्रेस सभापति न्यौपानेले भने ‘गोरखा नगरपालिकामा पनि मेयर कांग्रेसलाई सघाउने निर्णय भएको हो ।’ पालुङटारमा आफु अनुकुल भएको निर्णय चाँही पालना गर्ने तर गोरखा नगरपालिकामा जसपाले कांग्रेसका मेयर उम्मेदवार राजनराज पन्तलाई सघाउन केन्द्रले गरेको निर्णय पालना नगरेकाले बुधवार सहमती टुटेको उनले बताए ।

नेपाली कांग्रेस पालुङटार नगर समितिले बुधवार पत्रकार सम्मेलन गर्दै एक्लै चुनाव लड्ने निर्णय भएको जनाएको छ ।
‘गोरखा नगरपालिकामा जसपा र माओवादी केन्द्र बिच मेयर–उप मेयरमा तालमेल भएको छ’ सभापति न्यौपानेले भने ‘जसपाले केन्द्रको निर्देशन बिपरित माओवादी केन्द्रसँग तालमेल गरेकाले हामी अहिले फेरी मित्रवत प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेका हौँ’ सभापति न्यौपानेले भने ।

बैशाख ११ गते एकल चुनावी प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेका जसपा र कांग्रेस गोरखालाई केन्द्रिय समितिको दबावमा पालुङटार गोरखामा तालमेल गर्न भनिएको थियो । गृहनगर जसरी पनि लिने योजनामा पूर्व प्रधानमन्त्री समेत रहेका जसपा अध्यक्ष भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवालाई दवाब दिए । दुई नेता बिच गोरखा नगरपालिकाको प्रमुखमा कांग्रेसलाई सघाउने र पालुङटारमा जसपालाई सघाउने सहमती भएको थियो ।

उम्मेदवारी दर्ता भईसकेपछि अन्तिम नामावली सार्वजनीक हुने दिन बैशाख १६ गते दुबै पार्टीले सहमती बाहेकका उम्मेदवार फिर्ता लिने निर्णय गरे । जसपाले पत्र छिटो पठाएकाले गोनपामा मेयर उम्मेदवार सञ्जु भट्टले फिर्ता लिईन भने पालुङटारमा उप मेयरकी उम्मेदवार नारायणी अधिकारीले पनि फिर्ता लिईन । कांग्रेस केन्द्रिय समितिले ढिलो पत्र पठाएकाले पालुङटारमा कांग्रेसको तर्फबाट मेयर उम्मेदवार फिर्ता भएन । समयमै पत्र नआउँदा कांग्रेसबाट पालुङटारमा मेयरका उम्मेदवार दिपकबाबु कंडेलको उम्मेदवारी कायम रह्यो ।

‘अहिले मलाई जसपा सँग मिल्न हुँदैन भन्ने बुझेर नै केन्द्रिय सभापति शेरबहादुर देउवाले उम्मेदवारी फिर्ताको पत्र ढिला पठाउनुभएको हो जस्तो लागेको छ’ कांग्रेसबाट मेयरका उम्मेदवार दिपकबाबु कंडेलले भने । साथै उनले एकल लड्न आफुलाई जिल्ला पार्टीले निर्देशन दिएकाले बुधवारदेखि नै चुनावी प्रचार प्रसार सुरु गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्