| शनिबार, कार्तिक २८, २०८३

फिनाममा घरघरै धारा

गोरखा नगरपालिका ४ फिनाममा घरघरै धारा जडान भएपछि स्थानीय खुसी भएका छन् । धारापानी खानेपानी उपभोक्ता समिति मार्फत एक सय पाँच वटा धारा र नालेपानी बारीपुछार खानेपानी उपभोक्ता समिति मार्फत ६५ वटा धारा जडान गरिएको नालेपानी उपभोक्ता समिति अध्यक्ष रामबहादुर थापाले बताए ।

उक्त खानेपानी आयोजनाको बिहिवार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले उद्घाटन गरेका हुन् । ‘नगरक्षेत्र भित्रका हरेक घरघरमा खानेपानी धारा पु¥याउने योजना हाम्रो छ’ धारा उद्घाटनका क्रममा उनले भने ‘दरौँदी लिफ्टीङ खानेपानी आयोजना पुरा भएपछि गोरखाको पानीको धेरै समस्या हल हुनेछ ।’

खानेपानी आयोजना उपभोक्ताका लागि भएकाले संरक्षण र ब्यवस्थापनमा मुख्य जोड दिन नगरप्रमुख पन्तले फिनामका उपभोक्तालाई सुझाब दिए । ‘चैत बैशाखमा पानी लिन दुई घण्टा पालो पर्खनुपथ्र्यो’ स्थानीय राजेश खत्रीले भने ‘अहिले घर घरै धारा जडान गरेका छौँ, २४ सै घण्टा पानी आउँछ ।’ कोईरालागाउँ, बानियाँगाउँ, कामीगाउँ, बारिपुछार, रम्तेलगाउँ, ठुलोखेत लगायतका टोलमा पानी बितरण भएको छ । यहाँ पहिले एउटा धाराको पानी पुरै गाउँभरी प्रयोग गर्नुपर्ने बाध्यता स्थानीयलाई थियो ।

धारा जडान हुनु अघि गाउँभरीका मानिसले सामुयिक रुपमा धारा, कुवाको पानी प्रयोग गर्थे । घरैमा पानी झरेपछि समय बचत भएको, करेसाबारीमा तरकारी खेती लगाउन पनि सहज हुने वडा नम्बर ४ का अध्यक्ष रामशरण अधिकारीले बताए । ‘पानीको ठुलो समस्या थियो, अब यसलाई हामीले ब्यवस्थित गरेर नियमित सञ्चालन गर्न वडाले पनि सहयोग गर्छ’ उनले भने । तुलसीमेयर युनेस्को क्लव गोरखाले धारापानी खानेपानी उपभोक्ता समितिलाई २८ लाख ४७ हजार, गोरखा नगरपालिकाले तीन लाख ५० हजार र १५ लाख ५४ हजारको स्थानीयले श्रमदान गरेका थिए ।

यस योजनाका उपभोक्ताले मासिक एक सय ५० रुपैयाँ (पाँच युनिट सम्म) शुल्क तिर्ने गर्छन । नालेपानी खानेपानीका लागि क्लवले ३४ लाख ७९ हजार, समुदायले १६ लाख र गोरखा नगरपालिकाले सात लाख सहयोग गरेको थियो । यो पम्पिङ आयोजना भएकाले पाँच युनिट सम्म उपभोक्ताले तीन सय ७५ तिर्दै आएका छन् ।

‘आठ महिनामा हामीले आयोजना पुरा गरेका हौँ’ तुलसीमेयर युनेस्को क्लवका इन्जिनियर चित्र अधिकारीले भने ‘अब उपभोक्ताले ब्यवस्थापन गर्नुहुनेछ ।’ उपभोक्ताले सुद्ध पिउनेपानी उपभोग गर्न पाउन भन्ने उद्देश्यले पानी जाँच गर्ने मेसिन पनि उपलब्ध गराएको उनले बताए ।

नालेपानी खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा दिपक बानियाँ, तुलसी मेयर युनेस्को क्लवका धिरजबहादुर मास्के लगायतले धारणा राखेका थिए । सोही अवसरमा आयोजना निर्माणका लागि जग्गा दान गर्ने नारायणबहादुर बानियाँ, सन्तबहादुर कोईराला, रामबहादुर थापा, पदमप्रसाद भट्टराईलाई कदरपत्रले सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्