
बूढीगण्डकी किनारको जोखिम क्षेत्रमा बसोबास नगरौँ
बूढीगण्डकीमा विनाशकारी बाढी आएको तीन साता बितिसकेको छैन, अहिल्यै विस्थापितहरु फेरि किनार क्षेत्रमा त्रिपाल टाँगेर बस्न सुरु गरेका छन् । धार्चे गाउँपालिकाले विस्थापितहरुलाई वडा नं. १ उम्चेत, वडा नं. ३ खोर्लावेशीको चौर र वडा नं. ५ माछाखोलाको कवर्ड हल आसपास बसोबासको प्रवन्ध गरेको थियो ।
त्यहाँ बस्नेहरुलाई अर्को व्यवस्था नहुञ्जेल खाना, ओढ्ने ओछ्याउने, लत्ता कपडाहरुको पनि व्यवस्था गरेको थियो । तर स्थानीय विस्थापितहरु अहिले बाढीले बगर बनाएको जोखिम क्षेत्रमा त्रिपाल टाँगेर बसेका छन् । आफ्नो पालिकाबासीलाई सुरक्षित स्थानमा राख्ने वातावरण बनाउने पालिकाको जिम्मेवारी हो, त्यसैले उसले जिम्मेवारी पूरा गरेको भए पनि पीडितहरु पाल टाँगेर बूढीगण्डकी किनारमै बस्न थालेका हुन् ।
सो ठाउँमा पर्यटक हिँड्ने पदमार्ग छ । पर्यटक तथा उनीहरुका सहयोगीहरुलाई पानी, चिया, कफी तथा अन्य खानेकुरा बेच्ने प्रलोभनले जीवन जोखिममा राखेर जोखिम ठाउँमा बस्न गएका हुन् । अर्कातिर सार्वजनिक जग्गा ओगट्ने आशा वा लोभ वा प्रतिस्पर्धा हुनसक्छ ।
कारण जे जस्तो भए पनि जोखिम ठाउँमा बस्नु उचित हुदैन । पहिले जीवनको रक्षा नै महत्वपूर्ण छ । लोभ लालचका कुरा पछिका हुन् । बूढीगण्डकी तथा यस्ता नदी, खोलामा बाढी कहिले आउँछ भन्ने निश्चित भएन । न त झमझम झरी परेका बेला भोटेकोशीमा बाढी आएको हो, न त बूढीगण्डकीमा बाढी आउँदा नै बर्सात भएको थियो । यी दुवै खोलामा बाढी हिमपहिरोबाट आएको हो । हिमपहिरो आउने समयबारे कोही पनि जानकार हुदैनन् ।
हिमाली गाउँबस्ती अहिले हिमताल फुट्ने जोखिमबाट समेत चुनौतिमा छन् । हिमताल फुट्ने होस् वा हिम पहिरो जाने होस, अचानक नै हुनेगर्छ । त्यसैले हिमाली सभ्यता समस्याग्रस्त भइरहेको यो अवस्थामा सुरक्षित स्थल खोजेर बसोबास गर्नु आजको आवश्यकता हो ।




