
लिगलिगकोट दौड प्रतियोगिता : दुईबर्षपछि हुन लागेको दौड पनि विवादित
प्रतीक्षा आले ।
विगत दुईबर्षदेखि हुन नसकेको ऐतिहासिक लिगलिगे दौड प्रतियोगिता फेरि पनि विवादित भएको छ । पालुङटार नगरपालिका र लिगलिगकोट विकास अभियान बीचको खिचातानीका कारण विगत दुई वर्षदेखि हुन नसकेको प्रतियोगितामा यो वर्ष पनि विवादित भएको हो ।
पालुङटार नगरपालिकाले एक सूचना जारी गर्दै यस वर्षको लिगलिगकोट दौड प्रतियोगिता असोज २९ गते हुने जनाएको थियो । यसैबीच लामो समयदेखि लिगलिगकोट दौड आयोजना गर्दै आएको लिगलिगकोट विकास अभियानले भने सोको भोलिपल्ट असोज ३० गते प्रतियोगिता आयोजना गर्ने उल्लेख गरेपछि अन्योलता सिर्जना भएको छ ।
लिगलिगकोट दौड प्रतियोगिताको यो वर्ष हुने १२ औँ संस्करण पालुङटार नगरपालिका र लिगलिगकोट विकास अभियानले छुट्टा, छुट्टै मितिमा आयोजना गर्न लागेको हो । ‘नगरपालिकाले आयोजना गर्न लागेको लिगलिग दौड प्रतियोगिता नै आधिकारिक’ रहेको पालुङटारकी उपमेयर बन्दना पाण्डेले जानकारी दिएकी छिन् । उनका अनुसार लिगलिग दौडको अपनत्व यो वर्षबाट पालुङटार नगरपालिकाले लिएको छ ।
‘पहिला स्थानीय तह व्यवस्थित नभई सकेको अवस्थामा यो प्रतियोगिता लिगलिगकोट विकास अभियानले आयोजना गर्दै आएको थियो तर अहिले स्थानीय तह व्यवस्थित भैसक्यो’, उनले भनिन्, ‘लिगलिगकोट विकास अभियानलाई सम्मान गर्दै यो वर्षबाट लिगलिग दौडको अपनत्व नगरपालिकाले लिएको छ ।’ गैरसरकारी संस्थाले गर्दै आएको सो दौड प्रतियोगिताको स्वामित्व स्थानीय सरकारले ग्रहण गर्नु नै महत्वपूर्ण उपलब्धी भएको उनको भनाइ छ ।
नगर कार्यपालिकाको निर्णय अनुसार पालुङटारले ऐतिहासिक लिगलिगकोट दौड प्रतियोगिताको जिम्मेवारी लिएको उपमेयर पाण्डेको भनाइ छ । साथै, उनले लिगलिगकोट विकास अभियानले नगरपालिकालाई केही जानकारी नै नगराई आफूखुसी प्रतियोगिता आयोजना गर्न लागेको बताएकी छिन् । ‘नगरपालिकाले आधिकारी सूचना जारी गरेर प्रतियोगिताको तयारी थालिसकेको छ । प्रतियोगिता हुन्छ, कोही पनि अन्योलमा पर्नु पर्दैन’, उनले भनिन् ।
लिगलिगकोट विकास अभियानका अध्यक्ष सञ्जीव थापा मगरले भने लिगलिगकोट दौड आफूहरुले नै संचालन गर्ने बताएका छन् । शून्यबाट आजको अवस्थासम्म ल्याइपु¥याएको विरासतको सम्मान गर्दै उनले लिगलिगकोटका स्थानीय र लिगलिगकोट विकास अभियानको निर्णय अनुसार असोज ३० गतेका लागि प्रतियोगिता तय गरेको उनले जानकारी दिए । उनका अनुसार अभियानले विगतका वर्षहरुमा जस्तै यो वर्षपनि फुलपातीको अघिल्लो दिन दौड प्रतियोगिता आयोजना गरेको हो । पालुङटार नगरपालिकासँग पटक, पटक छलफलमा जुट्दा समेत पालिकाले एकपक्षीय हिसाबले प्रतियोगिता घोषणा गरेपछि आफूहरु पनि त्यही हिसाबले लागेको मगर बताउँछन् ।
‘यत्रो साँढे चारवर्ष केही काम नगरेको नगरपालिकाले अहिले आएर दौडमा अधिकार जमाउन खोज्नु ठिक होइन । त्यसो हो भने लिगलिगकोटको विकासामा चाँहि किन अधिकार लागेन ?’, उनले भने, ‘लिगलिगकोट दौड यहाँका बासिन्दाको प्रतिष्ठासंग जोडिएको विषय हो । यसको विरासत हामीसंगै छ । स्थानीय संस्थाले नै आयोजना गर्छ । हरेक वर्ष दशैँ आउन लागेपछि मात्र लिगलिग दौड सम्झने अरुबेला यहाँको पूर्वाधार निर्माण किन सम्झनु हुन्न ?’
लामो समयदेखि लिगलिगकोट संरक्षण र सम्बद्र्धनको जिम्मा लिँदै आएको लिगलिगकोट विकास अभियानले नै दौड गराउन पाउनुपर्ने उनको भनाइ छ । ‘लिगलिगकोटमा जे जति काम भएका छन् ती सबै हामी स्थानीयको पहलमा भएको छ । नगरपालिकाले दौडको गरिमामा मात्र आँखा लगाएर हुँदैन’, उनले भने ।
प्रतियोगिताको तयारी, व्यवस्थापन तथा समन्वयलाई प्रभावकारी बनाउन पालुङटार नगरपालिकाले भने ७ सदस्यीय समिति समेत गठन गरेको छ । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमश रु एकलाख १२ हजार, ८७ हजार, ६२ हजार र ४२ हजार नगद पुरस्कार वितरण गर्ने घोषणा समेत गरेको छ ।
यता लिगलिगकोट विकास अभियानले पनि आफ्नो हिसाबले प्रतियोगिताको तयारीहरु अघि सारेको छ । लिगलिगकोटको स्थानीयबासीको पहलमा प्रतियोगिताको तयारी सुरु भएको अभियानका अध्यक्ष सञ्जीव थापाको भनाई छ । चेपे र मस्र्याङ्दीको दोभान (चेपेघाट)देखि लिगलिगकोट दरबारसम्म १३.८ किलोमिटर दुरीमा हुने लिगलिगकोट दौड वार्षिक रुपमा राजा छनोट गर्ने प्राचिन प्रतियोगिता हो । लिगलिगकोटमा घले मगरहरूले राज्य गर्दा प्रत्येक वर्ष विजयादशमीको बेला जो पहिले दौडिएर कोटमा पुग्छ, उसैलाई एक वर्षका लागि राजा घोषित गर्ने परम्परा थियो ।




