
बारपाक सुलिकोटमा सांसद बुर्लाकोटीको जनभेटघाट
हरेक महिना आफ्नो निर्वाचन क्षेत्रमा जनभेटघाट गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार गोरखा २ बाट निर्वाचित सांसद कवीन्द्र बुर्लाकोटी अहिले बारपाक सुलिकोट गाउँपालिकामा जनभेटघाटमा व्यस्त छन् ।
आइतबार बिहान बारपाक सुलिकोट गाउँपालिकाको वडा नं. ८ राम्चेस्थित घ्याम्पेशाल–ताकुकोटको पहिरोले क्षतिग्रस्त सडकको अनुगमन गरेर उनले पालिका प्रवेश गरेका थिए । सो क्रममा लामो समयदेखि पहिरोले अवरुद्ध सो सडकको स्थायी विकल्प कसरी दिन सकिन्छ भन्नेबारे छलफल भएको थियो ।
त्यस्तै वडा नं. ७ को देउरालीमा पनि जनभेटघाट तथा घरदैलो कार्यक्रम गरिएको स्वकीय सचिव सुजन गर्तौलाले जानकारी दिए । गर्तौलाका अनुसार वडा नं. ६ मा चनौटै पाल्खु सडकको अनुगमन गरिएको थियो । त्यस्तै सोही वडाको माइकोटमा पनि जनगुनासो सुन्ने काम भएको थियो । सो ठाउँमा स्थानीय एक विद्यालय र व्यक्तिको जग्गा विवादबारे जनगुनासो सुन्ने र समाधानको प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्ने काम भएको थियो ।
साथै वडा नं. ६ कै मसारमा नारेश्वर पणिनीचौतारा, ताकुकोट सडक टेण्डर भएर पनि लामो समयदेखि कालोपत्रे हुन नसकेको बारे स्थानीय गुनासो गरेका थिए । सोही अवसरमा आइतबार बारपाक सुलिकोट वडा नं. ५ को वडाकार्यालय भवन उद्घाटन गरिएको छ ।
नागरिकले राखेका समस्या टिपोट गरी समाधानको प्रयास गर्ने प्रतिवद्धता सो अवसरमा गरिएको स्वकीय सचिव गर्तौलाले जानकारी दिए । आइतबार र सोमबार बारपाक सुलिकोट गाउँपालिकाका विभिन्न वडाहरुमा जनभेटघाट गरी सांसद बुर्लाकोटी मंगलकार काठमाडौं फर्कने कार्यक्रम रहेको उनले बताए ।




