
आजबाट गोर्खाली रनिङ कपको सेमिफाइनल खेल सुरु
जिल्ला सदरमुकाममा जारी ‘दशौँ गोर्खाली रनिङ कप’ को सेमिफाइनल खेलहरु आजबाट सुरु हुदै छ । सेमिफाइनल अन्तरगतको आजको खेल चाइनिजधारा फेमेली र सामाजिक कल्याण क्लव बीच हुने आयोजक हरमटारी क्लबले जनाएको छ ।
क्वाटर फाइनल अन्तरगत मंगलवार भएको पहिलो खेलमा हरमटारी क्लबलाई ५–१ को फराकिलो गोल अन्तरले हराउँदै सामाजिक कल्याण सेमिफाइनलमा पुगेको हो । त्यस्तै दोस्रो खेल गण्डकी पुलिस र रेड युनाइटेड क्लव बीच भएको थियो । उक्त खेलमा ३–० को गोल अन्तरले रेड यूनाइटेड बिजयी बनेको छ । सेमिफाइनल अन्तरगत बिहीवार हुने खेलमा रेड यूनाइटेड र लक्ष्मीबजार हार्ट क्लब भिड्ने छन् ।
गत आइतवारबाट सुरु भएको प्रतियोगिता फागुन ९ गतेसम्म चल्ने क्लबका अध्यक्ष अनिल श्रेष्ठले बताए । प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगिताको उपाधि बिजेताले रनिङ कपको साथमा चार लाख रुपैँया नगद पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै उपबिजेता टिमले दुई लाख नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र पाउने बताइएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २५ हजार नगद पुरस्कार पाउने छन् । त्यस्तै सर्वोत्कृष्ट गोलरक्षक र उदीयमान खेलाडीलाई १५–१५ हजारका दरले पुरस्कार दिइने क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।




