
प्रथम पृथ्वीनारायण गोल्ड कपः उपाधीको लागी पुलिस र चित्लाङ एफसी भिड्ने
प्रथम पृथ्वीनारायण गोल्ड कप फुटबल प्रतियोगिताको उपाधीको लागी नेपाल पुलिस फुटबल क्लब र चित्लाङ एफसी भिड्ने भएको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगितामा बिहीबार भएको सेमिफाइनलको दोस्रो खेलमा चित्लाङ एफसीले श्री भगवती युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको नगर खेलकुद संयोजक प्रदिप कुवाँरले जानकारी दिए ।
जितसँगै चित्लाङ एफसी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । उक्त प्रतियोगिता अवधिभर उत्कृष्ट खेल्दै जर्सी नम्बर ८ का ल्यासरु बाबाटन्डे म्यान अफ द म्याच घोषित भएका छन् । उनले नगद पाँच हजार पुरस्कार समेत प्राप्त गरेको कुवाँरले बताए ।
यसअघि बुधबार भएको सेमिफाइनलको पहिलो खेलमा आयोजक जिल्ला खेलकुद बिकास समितिलाई ३–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनल प्रवेश गरेको छ । प्रतियोगिता नकआउटको आधारमा भएको छ । पराजित बनेसँगै आयोजक टिम, संकटा एफसी, सादोबाटो युथ क्लब, पालानिङ ब्वाइज युनाइटेड, श्री भगवती युवा क्लब र एपिएफ एफसी प्रतियोगिताबाट बहिरिएको छ ।
गोरखा नगरपालिका–१० छेवेटारस्थित खेलमैदानमा जारी प्रतियोगितामा आयोजकसहित आठ टिमसहभागिता रहेको थियो । बिजेता चित्लाङ एफसीले भोली (शनिबार) हुने फाइनल खेलमा उपाधीको लागि नेपाल पुलिससँग भिड्ने छ ।
प्रतियोगिताको बिजेता टिमले नगद ८ लाखको साथमा ट्रफी प्राप्त गर्नेछन् । यस्तै उपबिजेता टिमले ४ लाख नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । खेल अवलोकन गर्नका लागि दुई हजारदेखि २५ सय सम्म दर्शक अट्ने अस्थायी प्याराफिट समेत निमार्ण गरिएको छ ।




