
नेपाल पुलिस क्लब पृथ्वीनारायण गोल्ड कपको फाइनलमा प्रवेश
नेपाल पुलिस फुटबल क्लब प्रथम पृथ्वीनारायण गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगितामा सेमिफाइनलको पहिलो खेलमा आयोजक जिल्ला खेलकुद बिकास समितिलाई ३–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनस प्रवेश गरेको हो ।
गोरखा नगरपालिका–१० छेवेटारस्थित खेलमैदानमा जारी प्रतियोगितामा बुधबार भएको उक्त प्रतिस्पर्धामा आयोजक टिमले आफ्नो तर्फबाट कुनै पनि गोल गर्न सकेनन् । घरेलु मैदानमा नै पराजय ब्यहोर्दै आयोजक स्तब्ध बन्न पुग्यो । पुलिसको यो दोस्रो जित हो । पहिलो खेलमा पुलिसले पालानिङ ब्वाइज युनाइटेडलाई १–० गोलले पराजित गरेको थियो । प्रतियोगिता नकआउटको आधारमा भएको छ । उद्घाटन खेलमा आयोजकसँग संकटा एफसी १–० गोल अन्तरले पराजित बनेको थियो ।
दोस्रो खेलमाा चित्लाङ एफसीसँग १-० गोल अन्तरले सादोबाटो युथ क्लब पराजित बनेको नगर खेलकुद संयोजक प्रदिप कुँवरले जानकारी दिए । चौथो खेलमा एपिएफ एफसी र श्री भगवती युवा क्लब बीच भएको प्रतिस्पर्धामा २-० गोल अन्तरले एपिएफ एफसी पराजित बनेको थियो । पराजित बनेसँगै संकटा एफसी, सादोबाटो युथ क्लब, पालानिङ ब्वाइज युनाइटेड, एपिएफ एफसी र आयोजक टिम प्रतियोगिताबाट बहिरिएको छ ।
ए डिभिजनका ७ र आयोजक १ गरी आठ टिमको प्रतियोगितामा सहभागिता रहेको थियो । पाँच टिम बहिरिएसँगै अब प्रतिस्पर्धामा ३ टिम बाँकी रहेको खेलकुद संयोजक कुवँरले बताए । आज सेमिफाइनलको दोस्रो खेल हुँदैछ । आज चित्लाङ एफसी र श्री भगवती युवा क्लब बीच प्रतिस्पर्धा हुने कुवँरले बताए ।
आजको बिजेता टिमले फाइनलमा उपाधीको लागि पुलिससँग भिड्ने छ । प्रतियोगिताको बिजेता टिमले नगद ८ लाखको साथमा टूफी प्राप्त गर्नेछन् । यस्तै उपबिजेता टिमले ४ लाख नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । खेल अवलोकन गर्नका लागि दुई हजारदेखि २५ सय सम्म दर्शक अट्ने अस्थायी प्याराफिट समेत निमार्ण गरिएको छ ।
जिल्ला खेलकुद बिकास समितिको आयोजनामा जारी प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुनेछ ।




